आज तिन प्रदेशमा दोस्रो चरणको निर्वाचन हुँदै

निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले सहभागीता जनाउने

काठमाडौं, असार,१४

स्थानीय तहको दोस्रो चरणको निर्वाचन आज तीनओटा प्रदेशमा हुँदैछ । प्रदेश नम्बर १, ५ र ७ मा पर्ने ३५ जिल्लाका ३३४ स्थानीय तहमा आज निर्वाचन हुन लागेको हो । 

तीमध्ये १ महानगरपालिका, ७ उपमहानगपालिका, १११ नगरपालिका र २१५ गाउँपालिका रहेका छन् । सबै स्थानीय तहमा परी कुल २८७४ वडा समावेश छन् ।निर्वाचनमा कुल ६४ लाख ३२ हजार ७ सय ६५ मतदाता सहभागी हुँदैछन् ।

प्रदेश नम्बर–१ मा पर्ने १४ जिल्लामा पर्ने १३७ स्थानीय तहमा एक महानगरपालिका, २ उपमहानगरपालिका, ४६ नगरपालिका र ८८ गाउँपालिका रहेका छन् । यो प्रदेशमा २६ लाख ७४ हजार ५ सय ६३ मतदाता छन् ।

त्यसैगरी, प्रदेश नम्बर ५ मा पर्ने १२ जिल्लामा जम्मा १०९ स्थानीय तह छन् । चार उपमहानगरपालिका, ३२ नगरपालिका, ७३ गाउँपालिका रहेको यो प्रदेशमा २४ लाख ५४ हजार ४ सय ८८ मतदाता रहेका छन् ।

त्यस्तै, प्रदेश नम्बर ७ पर्ने ९ जिल्लामा जम्मा ८८ स्थानीय तह छन् । एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका रहेको यो प्रदेशमा १३ लाख ३ हजार ७ सय १४ मतदाता निर्वाचनमा सहभागी हुँदैछन् ।

निर्वाचनमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिएका छन् । निर्वाचनबाट १५ हजार ३८ जना प्रतिनिधि चुनिनेछन् ।

चुनावका लागि ४ हजार ५ सय ८१ मतदानस्थल, ८ हजार ३ सय ६४ मतदान केन्द्र कायम गरिएको छ ।