एक साताभित्र मतगणना मतगणना गर्न निर्वाचन अधिकृतलाई आयोगको निर्देशन

काठमाडौं,असार,१५-

निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई एक साताभित्र मतगणना सक्ने गरी मतगणकको समूह बनाउन निर्देशन दिएको छ । निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार पहिलो चरणमा भएको ढिलाइबाट पाठ सिकेर सुरुमै मतगणकहरूको समूह धेरै बनाउन निर्देशन दिइएको हो ।

‘मतपत्रको सुरक्षाका लागि सुरक्षाकर्मीको संख्या धेरै राख्नेदेखि अन्य सुरक्षाका विधि अपनाउन निर्वाचन अधिकृतलाई भनिसकिएको छ,’ प्रवक्ता शर्माले भन्नुभयोे ।

यसैबीच– निर्वाचन आयोगले स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान सम्पन्न भएको जनाएको छ । आयोगको प्रारम्भिक विवरणअनुसार प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा बुधबार ७० दशमलव ५ प्रतिशत मतदान भएको छ ।

आयोगले यो आँकडा अझ बढ्न सक्ने बताएको छ । आयोगले दिएको जानकारीअनुसार सबैभन्दा बढी बाजुरामा ८० प्रतिशत र सबैभन्दा कम भोजपुरमा ६६ प्रतिशत मतदान भएको छ । थानीय तहको पहिलो चरणको निर्वाचनमा ७६ प्रतिशत मत खसेको थियो ।

त्यतिवेला २८३ स्थानीय तहमा निर्वाचन भएको थियो । बुधबार एक महानगरपालिका, सात उपमहानगरपालिका, १११ नगरपालिका र २१५ गाउँपालिकामा निर्वाचन सम्पन्न भएको छ ।

३३४ स्थानीय तहबाट १५ हजार ३८ जनप्रतिनिधि निर्वा्चित हुदै छन् । पहिलो चरणका २८३ स्थानीय तहबाट १५ हजार ५ सय ५६ जनप्रतिनिधि निर्वा्चित भएका थिए । तेस्रो चरणको निर्वाचन १२७ स्थानीय तहमा २ असोजमा हँुदै छ । प्रदेश नम्बर २ का आठ जिल्लामा निर्वाचन हुन बाँकी छ ।