अहिले सम्मकै धेरै ४३६४ जनामा कोरोना संक्रमण, २६७५ जना डिस्चार्ज

काठमाडौं,असोज,२२-नेपालमा बिहीवार थप ४ हजार ३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीवार थपिएका कोरोना संक्रमितको संख्या नेपालमा अहिलेसम्मकै उच्च हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा थप १२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट ५९० जनाको मृत्यु पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार बिहीवारसम्ममा नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६८४ जना रहेका छन् । हालसम्म क्वारेन्टाइनमा ४ हजार ४६० जना रहेका छन् । क्वारेन्टाइनमा रहेका मध्ये संस्थागत आईसोलेशनमा ११ हजार ७१४ जना र होम आईसोलेशनमा १४ हजार ९६७ जना रहेका छन् ।हालसम्म नेपालमा ७१ हजार ३४३ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

प्रवक्ता गौतमले विगत २४ घण्टामा १८ हजार ४७३ ओटा  पीसीआर परीक्षण गरिएको छ भने हालसम्म ११ लाख ३१ हजार ९५८  ओटा परीक्षण भइसकेको बताउनुभयो ।

विगत २४ घण्टामा २ हजार ६७५ जना डिस्चार्ज भएका छन् । विगत २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ५४० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौंका दुई हजार ८५ जना, ललितपुरका ३२० जना र भक्तपुरका १३५ जना हुन् ।