प्रदेश नम्बर २ मा हुने निर्वाचनको लागी दलहरु उम्मेदवार छान्न व्यस्त

काठमाडौं,भदौ,१२-

प्रमुख राजनीतिक दलहरु प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको मिति नजिकिदै गर्दा उम्मेदवार छान्न व्यस्त भएका छन् । उम्मेदवारको अन्तिम सुची तय गर्न कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपा आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।

आकांक्षीहरुको संख्या धेरै भएपछि उम्मेदवार छान्न नसकेको कांग्रेसले आन्तरिक छलफल जारी राखेको छ । आजदेखि उम्मेदवारको अन्तिम निर्णय प्रक्रिया सुरु गर्ने र १४ गतेभित्र उम्मेदवार चयन गरिसक्ने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिनुभयो ।

पार्टी सभापति शेरबहादुर देउवा हिजोसाझा भारत भ्रमणबाट फर्किएपछि आजैबाट प्रदेश नम्बर २ को चुनावका लागि उम्मेदवार छनौट प्रक्रिया सुरु हुने उहाले बताउनुभयो । यस्तै उम्मेदवारी चयन र चुनावी रणनति तय गर्न एमालेको प्रदेश नम्बर २ का अगुवा कार्यकर्ता भेला वीरगन्जमा सुरु भएको छ । अगुवा भेलापछि मात्र उम्मेदवारको अन्तिम टुङगो लगाईने एमाले सचिव गोकर्ण विष्टले जानकारी दिनुभयो ।

माओवादी केन्द्रले पनि उम्मेदवारको टुङगो र चुनावी रणनीति तय गर्न भोली प्रदेश नम्बर २ मा भेला गर्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहालसहितको भेलापछि उम्मेदवारको अन्तिम टुङगो लगाईने माओवादी प्रदेश नम्बर २ का संयोजक विश्वनाथ सशाले जानकारी दिनुभयो ।चुनावमा जाने निर्णय गरेसंगै राष्ट्रिय जनता पार्टीले पनि उम्मेदवार छान्ने प्रक्रिया थालेको छ ।नेपालवाणीबाट