राजपा निर्वाचनमा सहभागी हुन तयार रहेको संयोजक ठाकुरको भनाई

पर्सा,असार,३१-

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) को अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले मधेसवादी दलहरुसँग सरकारले गरेको तीनबुँदे सहमति कार्यान्वयन गरे स्थानीय तह निर्वाचनमा राजपा सहभागी हुन तयार रहेको बताउनुभएको छ ।

उहाँले संविधान संशोधनमा समस्या भएकाले अन्य दुईवटा सहमतिलाई सरकारले पूरा गरे निर्वाचनको वातावरण निर्माण हुने विश्वास व्यक्त गर्नुभयो ।

राजपा, पर्साले आज पर्साको बहुदरामाई गाउँपालिकाको विश्रामपुरमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक ठाकुरले जनसंख्याका आधारमा निर्वाचन क्षेत्र, आन्दोलनका क्रममा मृत्यु भएकालाई शहीद घोषणा, घाइतेलाई उपचार खर्च र मुद्दा फिर्ता सरकारले गरे निर्वाचनमा सहभागी हुने वातावरण बन्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँले संविधान संशोधनका लागि आवश्यक दुई तिहाइ नपुगेको अवस्थामा सरकारको निर्णयबाट हुन सक्ने कार्यलाई पूरा गरे राजपा स्थानीय तहको निर्वाचनमा सहभागी हुनसक्ने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता ठाकुरले तराईमा स्वास्थ्य र शिक्षामा सरकारले लगानी कम गरेका कारण मधेसी पछि पर्दै गएको आरोप लगाउनुभयो । उहाँले शक्तिका रुपमा रहेको स्वास्थ्य र शिक्षामा जनसंख्याका आधारमा सरकारले लगानी नगरेका कारण मधेसी पछि पर्दै गएको दाबी गर्नुभयो ।

राजपा पर्साका संयोजक पुरुषोत्तमलाल झाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पार्टीका प्रवक्ता एवम् प्रभावशाली नेता विमल श्रीवास्तव,नेजामुदिन समानी, शशिकपुर मियाँलगायतले यथास्थितिमा स्थानीय तह निर्वाचनमा सहभागी नहुने प्रस्ट पार्नुभएको थियो ।

विभिन्न पार्टी परित्याग गरी राजपा नेपालमा प्रवेश गरेकाहरुलाई संयोजक ठाकुरले फूलमाला र टीका लगाई स्वागत गर्नुभएको थियो । रासस