एड्सविरुद्धको खोप सम्भव ! गाईको शरीरबाट औषधीय गुण निकाल्न सकिने

वासिंटन, साउन ६-

विश्वमै घातक मानिदैं आएको एड्स रोगको भरपर्दो खोप बनाउन सकिने भएको छ ।अमेरिकी अनुसन्धानकर्ताका अनुसार एड्सविरुद्धको खोप बनाउन गाईको भूमिका महत्वपूर्ण हुने देखिन्छ । गाईको शरीरबाट औषधीय गुण निकालेर एड्सविरुद्धको सुई विकास गर्न सकिने अनुसन्धानकर्ताको दाबी छ ।

कम्प्लेक्स र ब्याक्टेरियायुक्त पाचनतन्त्रका कारण गाईमा प्रतिरक्षा क्षमता बढीमात्रामा विकसित हुने उनीहरु बताउँछन् । अमेरिकाको नेशनल इन्स्टिच्यूट अफ हेल्थले नयाँ जानकारीलाई निकै ठूलो उपलब्धि मानेको छ ।

एड्सविरुद्धको एउटै खोपले रोगीको रोग प्रतिरोधक प्रक्रियालाई विकसित गर्न सक्ने र संक्रमणको पहिलो चरणबाट बचाउन सक्ने अनुसन्धानकर्ताको भनाइ छ ।

इन्टरनेशनल भ्याक्सिन इनिशिएटिभ र दि स्क्रिप्स रिसर्च इन्स्टिच्युटले गाईको प्रतिरक्षा क्षमतालाई लिएर परीक्षण सुरु गरेका छन् । मानिसको शरीरमा एन्टीबडी निर्माण हुन चार÷पाँच वर्ष लाग्ने गरेकोमा गाईको शरीरमा केही सातामै त्यो सम्भव देखिएको पनि अनुसन्धानकर्ताको दाबी छ ।

‘नेचर’ नामक जर्नलमा प्रकाशित रिपोर्टका अनुसार गाईको एन्टीबडिजबाट एड्सको असरलाई ४२ दिनमा २० प्रतिशतसम्म कम गर्न सकिन्छ । प्रयोगशालामा गरिएको परीक्षणअनुसार ३ सय ८१ दिनमा यो एन्टीबडिजले ९६ प्रतिशतसम्म एड्सलाई नियन्त्रण गर्न सक्छ । (एजेन्सी)