प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने प्रधानमन्त्री देउवाको भनाई

काठमाण्डौं,साउन,६-

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने  बताउनु भएको छ ।

बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको निर्वाचन आगामी असोज २ गते तोकिएको जानकारी गराउँदै उहाँले भन्नुभयो प्रदेश र सङ्घको निर्वाचनको तयारीका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग हिजोमात्र गठन भइसकेको छ।’

निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न भएमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुने उहाँको धारणा थियो। प्रधानमन्त्री देउवाले कांग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा रुपान्तरित हुन बाँकी अन्य पार्टीलाई पनि रुपान्तरित गर्नु यसको जिम्मेवारी रहेको विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री देउवाले लामो समयदेखि अशक्त बिरामी भई हाल अस्पताल भर्ना हुएका कांग्रेस नेता चक्रप्रसाद बास्तोलालाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मानित गर्नु भएको थियो । रासस