एमाले नेता नेपालको गाडीमा तोडफोड, दुई जना पक्राउ

काठमान्डौ,साउन,८-
नेकपा एमालेका नेता माधवकुमार नेपालको पार्किङ गरिराखेको गाडीमा तोडफोड भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका नेपाल पुष्पलाल स्मृतिसभामा सहभागी हुन सरदमुकाम मन्थली पुगेका थिए । सुनकोशी होटलमा बास बसेका नेता नेपालको बा ५ प २७५० नम्बरको गाडी नजिकैको बसपार्कमा पार्किङ गरेर राखिएको थियो ।

तर, विहान तोडफोड भएको भेटिएको छ । गाडीको सिसा फुटेको प्रहरीले जनाएको छ । यो पूर्वप्रधानमन्त्री नेपालले नियमित चढ्दै आएको गाडी भने होइन । नेता नेपाल एमाले केन्द्रीय लेखा आयोगका सदस्य होमबहादुर बुढाथोकीको गाडीमा गएका थिए ।

तोडफोडमा संलग्न रहेको आरोपमा सागरकुमार श्रेष्ठ र मनोज श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेका दुबै रामेछाप बजारका दुबै कांग्रेस कार्यकर्ता हुन् । कांग्रेस नगरसमितिले पत्रकार सम्मेलन गर्दै सुनियोजित रुपमा आफ्ना कार्यकर्ता पक्राउ गरेको बताएको छ ।