संविधान संशोधन प्रस्ताव आज संसदमा पेस नहुने

काठमाडौं,साउन,३१-

सरकारले संविधान संशोधन प्रस्ताव आज बस्ने व्यवस्थापिका संसद् बैठकमा पेस नगर्ने भएको छ । दिउँसो १ बजेबस्ने बैठकमा सत्तारुढ दल र राजपाबीच संविधान संशोधन विधेयक निर्र्णायार्थ प्रस्तुत गर्ने यसअघि सहमति भएपनि आजको बैठकमा भने पेस नहुने भएको हो ।

प्राकृतिक प्रकोपले देशमा ठूलो जनधनको क्षति भएको र सरकार उद्धार तथा राहतमा जुट्नु परेकाले तत्काल संविधान संशोधनको प्रस्ताव सदनमा प्रस्तुत नगरिने कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

संशोधन प्रस्तावको पक्षमा दुईतिहाइ पुगे वा नपुगे पनि अघि बढाउन राजपा सहमत भएपछि सत्तारूढ कांग्रेस र माओवादी केन्द्र प्रस्ताव संसद्मा मतदानको प्रक्रियामा लैजाने पक्षमा थिए । तर, बाढीपहिरो र डुबानबाट ठूलो जनधनको क्षति भएकाले आज संसद्मा संशोधन प्रस्तुत नगरिने श्रेष्ठको भनाई छ ।

चिकित्सा शिक्षा विधेयकसमेत रोकियो ।

चिकित्सा शिक्षा विधेयकसमेत आज संसद्मा प्रस्तुत नहुने भएको छ । संसद्को महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाजकल्याण समितिबाट संशोधित विधेयक सर्वसम्मत पारित भइसकेको छ ।

तर, हिजो सार्वजनिक बिदा परेका कारण आफूले कार्यव्यवस्था परामर्श समितिलाई जानकारी गराउन नपाएको समिति सभापति रञ्जु झाले बताउनुभयो । यता संसद्का अन्य कार्यसुची पनि प्रभावित हुने भएका छन् ।

आजको बैठक तराईसहित मुलुकका बिभिन्न जिल्ला बाढी, पहिरो र ढुुवानबबाट क्षतिग्रस्त भएपछि उद्धार र राहत वितरणमा केन्द्रित हुने संसद सचिवालयले जनाएको छ ।नेपालवाणीवाट