उत्तर कोरियासँग खेलाँची नगर्न पुटिनको अमेरिकालाई सल्लाह

काठमाडौँ, भदौ २२-

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँग खेलाँची नगर्न अमेरिकालाई सल्लाह दिएका छन्। भ्लादिभोस्तोकमा भएको इस्टर्न इकोनोमिक फोरममा बोल्दै पुटिनले उत्तर कोरिया मामिलामा कूटनीतिक समाधान सम्भव रहेको बताएका हुन्।

‘सैन्य दबाब बढाउनु प्रत्युत्पादक हुन्छ। यसले कहीँ पु¥याउँदैन किनभने उत्तर कोरिया जानीबुझी अरुलाई उत्तेजित पार्न खोजिरहेको छ। त्यसैले उत्तर कोरिया उनीहरुको प्रतिक्रिया पर्खिरहेको छ,’ पुटिनले भने।‘त्यहाँ ठूलो मात्रामा युद्ध हुँदैन भन्नेमा म ढुक्क छु,’ पुटिनले भने, ‘खासगरी विनाशकारी हतियारहरुको प्रयोग हुनेछैन।’

पुटिनले उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रम नत्याग्ने पनि बताए। उनले उत्तर कोरियालाई तर्साउन सम्भव नरहेको बताए।सो इकोनोमिक फोरममा दक्षिण कोरियाली राष्ट्रपति मुन जे इन र जापानी प्रधानमन्त्री सिन्जो आबे पनि उपस्थित थिए।

त्यहीँ नै उत्तर कोरियाका वैदेशिक अर्थसम्बन्ध मामिला सम्बन्धी मन्त्री किम योङ जेले अमेरिकाको तर्फबाट दबाब उत्पन्न गर्न अपनाइएका सबै हथकण्डाको जवाफ दिइने बताए। उनले अमेरिकाले गल्ती गरिरहेको पनि दाबी गरे। एजेन्सी