प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गियो

काठमाण्डौं,पुस,२०-

राष्ट्रिय सभा निर्वाचन, प्रदेश प्रमुख र प्रदेशको राजधानीका सम्बन्धमा निर्णय गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्बदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ।

देउवाले सरकारी निवास बालुवाटारमा राष्ट्रिय मान्यता प्राप्त पाँच दलको बैठक बोलाउनु भएको थियो ।

बैठकमा देउवाले प्रदेश प्रमुखको नियुक्ति सहमतिका आधारमा गर्न प्रस्ताव गर्नु भएको थियो । तर, बैठकमा सहभागी एमाले नेता सुवाष नेम्वाङले यो सरकारको दायित्वमा पर्ने विषय भएको जनाउँदै सरकारलाई नै गर्नुपर्ने बताउनुभयो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड’ ले भने प्रदेश प्रमुख राजनीतिक सहमतिका आधारमा गर्नुपर्ने प्रस्ताव आफूले नै राखेको भन्दै सहमतिका लागि आग्रह गर्नु भएको थियो ।

उहाँले राष्ट्रिय सभा निर्वाचन चाँडो गर्न पनि प्रदेश प्रमुख आवस्यक रहेको बताउनु भएको थियो ।राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमले देउवा र प्रचण्डको भनाईमा सहमति जनाउनुभयो ।

फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भन्नुभयो हामीले पनि राजनीतिक दलहरुबीच सहमति निर्माण गर्दा उपयुक्त हुन्छ भनेका छौं। तर एमालेले सरकारले नै गरोस् भन्यो।’

यसैगरी राष्ट्रिय सभाको निर्वाचनको मिति निर्वाचन आयोगको सहमतिमा गर्ने विषयमा छलफल भएको छ। तर, एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि दुई हप्ता भन्दा बढि लगाउन नहुने अडान लिएको छ। आयोगले चाहिँ २५ माघका लागि प्रस्ताव गरेको छ।

श्रेष्ठले भन्नुभयो, ‘प्रदेश राजधानीपनि सहमतिका आधारमा गर्ने विषयमा बैठकमा छलफल भएको छ। नेपाल खबरबाट