लोकतन्त्रवादीहरु मिलेर जानुपर्छ : कांग्रेस महामन्त्री कोइराला

लुम्बिनी,असोज,१७-

नेपाली काँग्रेसका महामन्त्री डा शंशाक कोइरालाले लोकतन्त्रवादी शक्तिहरु मिलेर जानु पर्ने बताउनु भएको छ ।

नेपाली काँग्रेसको अबको पहिलो संकल्प समृद्ध राष्ट्र बनाउनु रहेको बताउँदै महामन्त्री कोइरालाले सत्ता गठबन्धनमा सहभागी दलहरु आशन्न निर्वाचनमा पनि मिलेर जानुपर्नेमा जोड दिनुभयो ।

लोकतन्त्रवादी शक्ति मिलेर गएको खण्डमा नेपाल छिट्टै स्थायित्व, शान्ति र समृद्धिको बाटोमा अगाडि बढ्न सक्ने बताउँदै उहाँले त्यसका लागि सबैको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल प्रेस युनियन, रुपन्देहीले भैरहवामा आज  विहान आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले नेपाली काँग्रेस अब समृद्धिको एजेण्डा लिएर अगाडि बढ्ने बताउनुभयो ।

मुलुकलाई समृद्ध कसरी बनाउन सकिन्छ भन्नेमा काँग्रेस लागिपरेको बताउँदै उहाँले सिद्धान्तको झगडालाई थाति राखेर समृद्धिको पाटो पहिल्याएर जनतालाई सुखी र खुशी बनाउने अभियानमा लाग्ने बताउनुभयो ।

समृद्ध राष्ट्र निर्माणका लागि आगामी दिनमा पनि काँग्रेसको सरकार आवश्यक रहेको बताउँदै आसन्न प्रदेश र केन्द्रको निर्वाचनमा नेपाली काँग्रेसलाई अग्रपंक्तिमा पुर्याउन उहाँले आग्रह गर्नुभयो ।