लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदलको कुरो अझै मिलेन

दुवै गठनबन्धको सीट संख्यामै समस्या

काठमाडौं, असोज २२-

लोकतान्त्रिक र बाम गठबन्धनका दुबै कार्यदलले अझै आफ्नो निर्णय दिन सकेका छैनन् ।दुबै कार्यदलले आफू टुंगोमा पुग्न नसकेको विषय शीर्ष नेताको तहमै लैजाने भएका छन् ।

लोकतान्त्रिक गठबन्धनको कार्यदल बैठकमा नेपाली कांग्रेसले बनाएको क्षेत्र निर्धारणसम्बन्धि प्रस्तावमा छलफल भइरहेको छ ।बैठकमा नेपाली कांग्रेसले पाउने क्षेत्र र अरु दलले पाउने क्षेत्रबारे अवधारणामा छलफल चलिरहेको छ ।

अघिल्लो निर्वाचनमा जस्ले जितेको छ, उसैलाई दिने र प्रदेश नम्बर २ मा ५० प्रतिशत आफूले राखेर बाँकी अरु दललाई दिने प्रस्ताव कांग्रेसको छ ।साझा न्यूनतम कार्यक्रम भोलिसम्ममा सार्वजनिक गर्ने तयारी कार्यदलको छ भने सीट संख्या २४ गतेसम्ममा टुंग्याई सक्ने बताइएको छ ।

समग्र अवधारणा भने आजै सार्वजनिक गरिने तयारी भएको कार्यदलका सदस्य सर्वेन्द्रनाथ शुक्लले जानकारी दिनुभयो ।त्यस्तै बाम गठबन्धन कार्यदलको बैठकमा पनि निर्वाचन क्षेत्रको विषयमा छलफल चलिरहेको छ ।

कार्यदल सदस्य सुरेन्द्र पाण्डेका अनुसार क्षेत्र निर्धारणका विषयमा सामान्य छलफल भएपनि अहिलेसम्म कुनै निर्णय भएको छैन ।बाम गठबन्धनले हिजै निर्वाचन क्षेत्र टुंग्याउने तयारी गरेपनि नमिलेका विषय शीर्ष तहमै पठाउने भएका हुन् ।