झरना फेरि अर्को फिल्म बनाउदै

ए मेरो हजुर ३ पनि बनाउने तयारीमा

शिव पुन,
दाङ,असोज,२२-
नायिका एवं निर्देशक झरना थापाले आफ्नो नयाँ फिल्मको घोषणा गरेकी छिन् । झरनाले अब बनाउने फिल्मको नाम भागवत गीता रहेको छ ।आज चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा बोल्दै नायिका झरनाले अहिले फिल्मको वर्कसप भइरहेको र यो वर्षको अन्त्य तिरबाट फिल्म फ्लोरमा जाने जानकारी गराइन ।

कार्यक्रममा बोल्दै झरनाले ए मेरो हजुर (२ यो वर्षको सुपरहिट फिल्म बनेपछि दर्शक र फिल्म वितरकहरुले अब ए मेरो हजुर (३ बनाउन आग्रह गरेकोले पहिले ए मेरो हजुर (३ बनाउने कि भागवत गीता भन्ने अझै फाइनल गरि नसकिएको भएपनि अहिले दुईवटै फिल्मको एकसाथ काम भइरहेको जानकारी गराइन ।यस्तै झरनाले फिल्म स्टारले नभएर स्टोरीले चल्ने बताइन ।

फिल्ममा स्टार राखेर फिल्म चल्छ भन्ने सोच र प्रयोग पुरानो भइसकेको भन्दै अहिले फिल्म हेर्ने दर्शक र फिल्म बन्ने तरिकामा पहिलेको भन्दा धेरै परिवर्तन आइसकेको बताइन। कुनै समयमा नेपाली सिनेमा उद्योगमा एकछ्त्र राज गरेका केही स्टारले निर्माण , निर्देशन र अभिनय गरेका फिल्म अहिले असफल भएको भन्दै फिल्मको स्टोरी राम्रो छ ।

त्यसलाई निर्देशकले राम्रो संग प्रस्तुत गर्नसकेको छ भने फिल्ममा नयाँ कलाकार राखेर पनि फिल्मलाइ सफल बनाउन सकिन्छ र त्यसको पछिल्लो उदाहरण फिल्म ए मेरो हजुर (२ रहेको बताइन् ।तर्सथ अब फिल्म बनाउदा सबैले स्टारलाई भन्दा स्टोरी र प्रविधिलाई जोड दिदै अन्तर्राष्ट्रिय फिल्म मार्केटमा भिड्न सक्ने र सबै दर्शकलाइ हलसम्म तान्न सक्ने फिल्म बनाउनुपर्ने कुरालाई जोड दिइन ।

चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्योपाने को अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्देशक झरनाले दाङ जिल्लामा पनि फिल्म छायांकनका लागि धेरै उपयुक्त पर्यटकीय , धार्मिक र रमणीय ठाउँ भएको भन्दै सम्भव भएसम्म आफ्नो आगामी फिल्मका केहि दृश्य दाङमा पनि खिचिने र अन्य फिल्म निर्माताहरुलाई पनि दाङमा फिल्म छायांकनको लागि प्रोत्साहित गर्ने बताइन् ।

साथै दाङ जिल्लामा फिल्म निर्माणको लागि धेरै राम्रा ठाउँ भएकाले दाङलाइ फिल्म सिटिको रुपमा विकास गर्नुपर्ने कुरालाई पनि निर्देशक झरना ले विशेष जोड दिइन । चलचित्र पत्रकार संघ दाङका कोषाध्यक्ष शिव पुनको स्वागत मन्त्व्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्तोष के.सि.ले गरेका थिए ।