कांग्रेसको ‘शक्तिशाली’ संसदीय समिति गठन

काठमाडौं, असोज २५-

नेपाली कांग्रेसले आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार छान्न १७ सदस्यीय केन्द्रीय संसदीय समिति गठन गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले आज संसदीय समिति गठन गरेका हुन् ।

कांग्रेसको विधानअनुसार संसदीय समितिले निर्वाचनमा उम्मेदवार छान्ने तथा सरकारमा जाँदा मन्त्रीहरुको नाम टुंगो लगाउने भएकाले पार्टी संरचनामा यो समितिलाई शक्तिशाली मानिन्छ ।

नेपाली कांग्रेसको विधानमा १५ सदस्यीय संसदीय समिति रहने व्यवस्था भएपनि सन्तुलन मिलाउन देउवाले विधानविपरीत १७ सदस्यीय समिति बनाउनु भएको हो ।

समितिमा पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव रहेको समितीमा केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, गोपालमान श्रेष्ठ, खुमबहादुर खड्का र पूर्णबहादुर खड्का ,अर्जुनरसिंह केसी, डा.रामशरण महत, चित्रलेखा यादव, महेश आचार्य, बालकृष्ण खाँण, डा.प्रकाशशरण महत र ज्ञानेन्द्रबहादुर कार्की रहेको जनाइएको छ ।