गठबन्धनका दललाई कांग्रेसले दियो : ८ सिट

काठमाण्डौ,कार्तीक,५-

नेपाली कांग्रेसले मंसिर १० मा पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनमा लोकतान्त्रिक गठबन्धनमा आबद्ध दलहरुलाई ८ सिट दिएको छ। कांग्रेसले प्रतिनिधि सभामा दुई र प्रदेश सभामा ६ सिट गठबन्धनका दलहरुलाई छोडिदिएको हो । पहिलो चरणको निर्वाचनमा कांग्रेससँग राप्रपा, राप्रपा प्रजातान्त्रिक, संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्ति नेपाल पार्टीले चुनावी गठबन्धन गरेका छन् ।

नेपाली काँग्रेस पार्टी कार्यालय

चुनावी गठबन्धनमा रहेका दलमध्ये कांग्रेसले राप्रपा प्रजातान्त्रिक र नयाँ शक्ति नेपाललाई प्रतिनिधि सभाका लागि एक–एक सिट दिएको छ। प्रतिनिधि सभाका लागि राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर जबराका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर २ र नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ कांग्रेसले छोडेको छ।

यस्तै, प्रदेश सभातर्फ कांग्रेसले राप्रपाका गणेश चन्दलाई बैतडी (ख) छोडेको छ भने सिन्धुपाल्चोक क्षेत्र नम्बर २ को (ख) राप्रपा प्रजातान्त्रिकलाई दिएको छ। गोरखा क्षेत्र नम्बर २ को (क) र रसुवाको (ख) भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाललाई कांग्रेसले दिएको छ भने धादिङमा प्रतिनिधि सभामा सघाएको राप्रपालाई क्षेत्र नम्बर २ को (ख) दिएको छ।

यसैबिच : भोजपुरमा कांग्रेसलाई प्रतिनिधि सभामा सघाएको संघीय समाजवादीका अजम्बर काम्वाङलाई भोजपुर (क) छोडेको छ। पहिलो चरणमा मंसिर १० मा हुने ३२ जिल्लामा रहेका प्रतिनिधि सभाका ३७ सिटमध्ये ३५ सिटमा कांग्रेसले आफ्ना उम्मेदवार उठाएको छ भने प्रदेश सभाका ७४ सिटमध्ये ६८ सिटमा उम्मेदवार उठाएको छ।