आर्सनल र टोटनह्याम हट्सपर विजयी, एभर्टन भने रेलिगेसन क्षेत्रमा

काठमाडौं, कात्तिक ६-

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् । लण्डन क्लब आर्सनलले एभर्टनलाई उसैको मैदानमा ५–२ ले हरायो । खेलमा आर्सनललाई विजयी गराउन नाचो मोन्रीयाल, मेसुत ओजिल, अलेक्सिस सान्चेज, अलेक्जेण्डर लाकाजेट र आरोन राम्सेले एक–एक गोल गरे ।

एभर्टनका वायन रुनी र ईद्रीसा गुवेले एक–एक गोल गरे । यो जितपछि आर्सनलले अंक तालिकाको चौथो स्थानमा रहेको चेल्सीसँग बराबरी गरेको छ । उता पराजित टोली एभर्टन भने तालिकाका १८ औं स्थानमा झर्दै रेलिगेसन क्षेत्रमा पुगेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा टोटनह्याम हट्सपरले लिभरपुललाई ४–१ ले पराजित गर्‍यो । आफ्नै मैदानमा टोटनह्यामलाई विजयी गराउन ह्यारी केनले दुई तथा हिङ मिउन सन र डेले अलीले एक–एक गोल गरे । लिभरपुलका मोहोमद सालाहले एक गोल फर्काए ।

गएरातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ९ खेलबाट २५ अंक जोडेको म्यान्चेस्टर सिटी शीर्ष स्थानमा रहेको छ । समान खेलबाट २०/२० अंक जोडेका म्यान्चेस्टर युनाईटेड र टोटनह्याम क्रमशः दोस्रो तथा तेस्रो स्थानमा रहेका छन् । १६/१६ अंक जोडेको चेल्सी र आर्सनल भने चौथो र पाँचौ स्थानमा समेटिएका छन् ।