च्याम्पियन्स लिग : आज पिएसजी र रियल म्याड्रिड भिड्ने

एजेन्सी,फाल्गुन,३-युइएफए च्याम्पियन्स लिगमा आज मंगलबार रातिबाट प्रि-क्वाटरफाइनलको चरण अन्तर्गत पहिलो लेगको दुई खेल हुँदैछ । निकै प्रतिक्षित खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र स्पेनिस क्लब रियल म्याड्रिड भिड्दै छन् ।

खेल पिएसजीको मैदान पार्क डेस प्रिन्सेसमा नेपाली समयअनुसार राति १:४५ बजे सुरु हुनेछ । स्टार खेलाडीले भरिएको फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पिएसजी र स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियलबीचको खेल रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।

घरेलु मैदानमा हुने खेलमा पिएसजी पहिलो लेगमा सफलता हात पार्दै दोस्रो लेगलाई सहज बनाउन चहान्छ । चोटका कारण नोभेम्बर अन्तिम साता यता मैदान बाहिर रहेका ब्राजिली सुपरस्टार नेयमारको यस खेलबाट नै पूनरागमन गर्न सक्नेछन् ।नेयमारको आगमनले हौसिएको पिएसजीसँग अर्जेन्टिनी स्टार लियोनेल मेस्सीसँगै फ्रान्सेली युवा स्टार केलियन एमबाप्पेको साथ रहेको छ ।

यसबाहेक टोलीसँग जियानलुइजी डोन्नररुम्मा, अचरफ हाकिमी, मार्किन्हस, प्रेसनेल किमपेम्वे, मार्काे भेराट्टी, इड्रिसा गुआई, जर्जिन्हो वाइनाल्डम, एन्जल डि मारिया, लियान्द्रो ड्यानियल पारेडेस, ड्यानिलो, नुनो मेन्डिसलगायतको खेलाडीको साथ रहेको छ ।यता, रियल पनि अवे जित निकाल्दै दोस्रो लेगलाई थप सहज बनाउने लक्ष्यमा मैदान उत्रनेछ । लयमा रहेका स्टार फरवार्ड करिम बेन्जेमाले खेल्ने सम्भावना न्यून रहेको छ । बेन्जेमाको अनुपस्थितिमा रियलको अग्रपङ्ति कमजोर देखिएको छ ।

तर, टोलीसँग भिनिसियस जुनियर, रोड्रिगो, इडेन हाजार्ड, ग्यारेथ बेल, इस्को, मार्काे एसेन्सियो, लुका जोभिक, टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, डेभिड अलाबा, इडर मिलिसाओ, मार्सेलो, फर्लान्ड मेन्डी, ड्यानी कार्भाजल, नाचो फर्नान्डेज, लुकास भास्क्वेज, इडुआर्डा कामाभिंगा र गोलरक्षक थिवाउट कोर्टुवा रहेका छन् ।

हालसम्म यि दुई टोली ९ पटक एक आपसमा भिडेका छन् । इतिहासलाई केलाउँदा रियलले ५ खेलमा सफलता हात पार्दा पिएसजीले दुई खेल जितेको छ । २ खेल बराबरीमै सकिएको छ । पछिल्लो तीन खेलको नतिजा हेर्दा समान एक जित, बराबरी र हारको नतिजा छ।सोही कारण पनि यो खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।