ग्लोबल छनोटका लागि नेपालको अन्तिम टोलीको घोषणा

काठमाण्डौं,फागुन,३-आसन्न ग्लोबल छनोटका लागि नेपालको अन्तिम टोलीको घोषणा भएको छ। मंगलवार नेपाल क्रिकेट संघले नवनियुक्त मुख्य प्रशिक्षक पुवुदु दासानायकेको १४ सदस्यीय टोली सार्वजनिक गरेको हो।

नवनियुक्त कप्तान सन्दिप लामिछानेको नेतृत्वमा पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, पूर्व उपकप्तान दिपेन्द्र सिंह ऐरि, शरद भेषावकर, कुशल भुर्तेल, मोहम्मद आसिफ सेख, मोहम्मद आरिफ सेख, अभिनाष बोहरा, जितेन्द्र कुमार मुखिया, कमल सिंह ऐरि, बिबेक कुमार यादव, लोकेस बहादुर बम, सागर ढकाल र गुल्सन कुमार झा रहेका छन्।

यस्अघि टोलीमा रहेका महत्त्वपूर्ण अलराउन्डर करण केसी चोटका कारण छनोट गुमाउने भएपछि उनको स्थान गुल्सनले लिएका हुन्। यस्तै ‘रिजर्भ’ मा कुशल मल्ल, शाहब आलाम र प्रदीप ऐरि रहेका छन्।

‘अफिसियल्स’ मा पुबुदुसँगै, ‘कन्सल्टेन्ट कोच’ धमिका प्रसाद, फिजियो, बिक्रम न्यौपाने, विश्लेषक रमन सिवाकोटी र व्यवस्थापक सुमन राज कार्कीको टोली रहेको छ। हिजो सम्पन्न चारदेशिय शृङ्खलापछि हाल नेपाली टोली त्यहा भएका गल्ती बुझेर त्यसलाई सच्याउन अभ्यास गरिरहेको छ।

ग्लोबल छनोटको समुह ‘ए’ मा नेपालसहित आयोजक ओमान, फिलिपिन्स, क्यानाडा, युएई, बहराईन, आयरल्यान्ड र जर्मनी रहेका छन्। समुह ‘ए’ अन्तर्गतको उप-समुहमा पनि नेपाल समुह ‘ए’ मा रहेको छ। जसमा क्यानाडा, फिलिपिन्स र ओमान रहेका छन्।

समुह ‘ए’ अन्तर्गतको समुह ‘बि’ मा युएई, बहराइन, आयरल्यान्ड र जर्मनी रहेका छन्। सुरुमा समुह ‘ए’ को दुबै समुहमा राउन्ड रोविनका आधारमा प्रतिस्पर्धा हुनेछ। दुबै समुहका शिर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्नेछन्। जसबाट फाइनल पुग्ने दुई टोली अष्ट्रेलियामा हुने विश्वकपमा छनोट हुनेछन्।

ग्लोबल छनोटको समुह चरणमा नेपालको पहिलो खेल आयोजक ओमान विरुद्ध रहेको छ। जून फाल्गुन ६ (फेब्रुअरी १८) मा खेलिनेछ। त्यसपछि टोलीले फाल्गुन ७ (फेब्रुअरी १९) मा फिलिपिन्स र फाल्गुन ९ (फेब्रुअरी २१) मा क्यानडाको सामना गर्नेछ।