छठ पर्व आजबाट सुरु

देशका विभिन्न ठाउँका पोखरीमा पूजा गर्ने भक्तजनको भिड

काठमाडौं, कात्तिक ७-

मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व आजबाट सुरु भएको छ ।कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व आज ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो । छठ पर्व सुरु भएसँगै गाउँबस्तीमा छठी गीत गुञ्जिरहेका छन् ।

सूर्यदेवको उपासना गरिने यस पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन ब्रतालुले ब्रत संकल्प गरेर पवित्र स्नान गरेर चोखोनितो खान्छन् । पहिलो दिनको यो विधिलाई बोलीचालीमा ‘नहाय–खाय’ भन्ने गरिन्छ । पर्वको दोस्रो दिन पञ्चमी तिथिमा ब्रतालुले दिनभरि निराहार ब्रत बसेर राति सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि सम्पन्न गर्नेछन् ।

यसैगरी : पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुवाई–धुवाई गरेर निराहार ब्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने गरिन्छ । मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।

झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउँदा सूर्यलाई अर्घ्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुने परम्परा छ ।

उदाउँदो सूर्यलाई दिइने यो अर्घ्यलाई ‘भोरका अरख’ भनिने गरिएको छ । मिथिला लोकसंस्कृतिको अभिन्न अंग बनिसकेको यो पर्वको तयारीमा अहिले यस क्षेत्रका नदी, तलाउ र कुण्डसहितका जलाशय मनमोहक ढंगले सिंगारिएका छन् ।

जनकपुरका गंगा सागर, धनुष सागरसहितका दर्जनौं पोखरी र वीरगञ्जको घडीअर्वा पोखरीमा पूजा गर्न भक्तजनको विशेष भीड लाग्ने गर्दछ ।

उता, छठ पर्वका लागि विभिन्न प्रसाद सामग्री खरीद गर्न तराईका बजारमा भीड लागेको छ । खासगरी छठमा अनिवार्य रुपमा चढाइने केरा, नरिवल र ऊखु किन्नका लागि पसलहरुमा ग्राहकको भीड देखिन्छ ।