आज छठ पर्व मनाइँदै

नदी तथा तलाउका किनारा झकिझकाउ

काठमाडौं, कात्तिक ९-

मिथिलाञ्चलको महान पर्व छठको मुख्य दिन आज काठमाडौंसहित तराईका विभिन्न जिल्लामा धुमधामका साथ मनाईंदै छ ।छठको तेस्रो तथा मुख्य दिन आज अस्ताउँदै गरेको सूर्य तथा षष्ठी मातालाई अघ्र्य दिने गरिन्छ । छठका लागि तराईका विभिन्न जिल्लाका नदी तथा तलाउका किनारा झकिझकाउ पारिएको छ ।

दुलही झैं सिंगारिएका तलाऊहरुमा हजारौं भक्तजन बिहानैदेखि भेला हुन थालेका छन् ।जनकपुरका ऐतिहासिक गंगा सागर, धनुष सागर, अरगजा पोखरी, दशरथ तलाउसहित दुई दर्जनभन्दा बढी पोखरीमा छठ मनाउन ब्रतालुहरुको घुईचो लाग्न थालेको छ ।

वीरगन्जको घडीअर्वा पोखरीमा पनि छठको रमझम उत्तिकै छ । छठ पर्व नवलपरासीमा पनि धुमधामसँग मनाईदै छ ।परासी संगै उनवच, त्रिवेणी, नवलपुर क्षेत्रलगायतका नदी र तालहरुमा पनि पूजाआजाका लागि भक्तजन पुगेका छन् ।यस्तै झापाको मेची नदी, विरीङ, मावा, रतुवा, निन्दालगायतका नदी किनारमा पनि भक्तजनहरु भेला भएका छन् ।

सप्तरीको कोशी व्यारेज, भारदह, छिन्नमस्ता, कञ्चनपुर, हनुमाननगर, बीरेन्द्रबजार, सीतापुर, महुली, रुपनी, बर्साइन, पातो, कल्याणपुर, कडरबोना, मानराजा, सखडा, सदरमुकाम राजविराजसहितका स्थानहरुमा पनि उत्तिकै उल्लासले यो पर्व मनाईदै छ ।

कोशीव्यारेजमा भारतको पूर्णिया, फारबिसगञ्ज, राजपुरसहित स्थानबाट छठ मनाउन सयौं ब्रतालु आएका छन् ।यता, सिन्धुली जिल्लाका केही स्थानमा छठ मधेशी र पहाडिया समुदाय एकापसमा मिलेर मनाईरहेका छन् ।

भित्री मधेशमा पर्ने सदरमुकाम सिन्धुलीमाडीको स्थानीय गौमती नदीको किनारमा मधेशी र पहाडिया समुदायले मिलेर सजिया घाट निर्माण गरी छठ पूजा गरिरहेका हुन् ।

काठमाडौंमा गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी लगायत पोखरी तथा वाग्मती, नख्खु र विष्णुमतीलगायत नदी किनारमा छठ मनाइँदै छ ।कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वमा सूर्यदेवको आराधना, उपासना र पूजा गरिन्छ ।

पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा होस् भन्ने उद्देश्यले सूर्यको उपासना गरी यो पर्व मनाउने गरिन्छ ।आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको बनाउन भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेको प्रसंग यस पर्वसँग जोडिएको छ ।

त्यसैगरी महाभारतकालमा द्रौपदीसहित पाण्डवहरुले अज्ञात वासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरेको र सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको कथन छ ।