खोटाङमा मतदान केन्द्र तर्फ जान थाले कर्मचारी

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर,५-

खोटाङमा आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावका लागि कर्मचारी मतदान केन्द्रमा जान थालेका छन् । मत पेटिका, मतपत्र, नङमा हाल्ने मसी, छाप लगायतका ६४ प्रकारका निर्वाचन सामग्री सहित मतदान अधिकृत र सहायक मतदान अधिकृत लगायतका कर्मचारीको समुह मतदान केन्द्रतर्फ पठाउन थालिएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताउनुभयो ।

सदरमुकाम दिक्तेलबाट टाढाका मतदान केन्द्रमा खटिएका अधिकांश कर्मचारी हिँडिसकेका छन् । जन्तेढुंगा गाउँपालिकामा चुनाव सामाग्री सहितका कर्मचारी पुगिसकेका छन् ।

यस्तै, बराहपोखरी, खोटेहाङ, केपिलासगढी, ऐसेलुखर्क गाउँपालिका भित्रका मतदान केन्द्रमा खटिएका कर्मचारी पनि निर्वाचन सामग्री बुझेर सदरमुकाम दिक्तेलबाट हिडिसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अन्य केन्द्रमा खटाइएका कर्मचारीले पनि निर्वाचन सामग्री बुझिरहेका छन् । जिल्लाका १ सय ३६ मतदान स्थलका १ सय ७९ मतदान केन्द्रमा १ हजार ४ सय ३२ कर्मचारी खटाइएको छ ।