फोक्सिङटारमा अस्थायी बेलिब्रिज संचालन

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,९-
खोटाङ र पूर्वी शहर जोड्ने सुनकोशीको फोक्सिङटारमा अस्थायी बेलिब्रिज आईतबार देखी संचालन गरिएको छ । खोटाङको दिप्रुङ गाउँपालिकाको लिच्कीराम्चे र उदयपुरको आँपटार जोड्न फोक्सिङटारमा पक्की पुलको अभावमा अस्थायी बेलिब्रिज जडान गरिएको हो ।

आर्थिक वर्ष २०५१ र ०५२ मा निर्माण सुरु गरिएको १ सय ३१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज जडान गरिएसँगै जिल्लाबाट सिधै गाईघाट हुँदै धरान, विराटनगरलगायतका शहर जाने सीधा बाटो खुलेको छ ।

पानीको बहाव बढ्न थालेपछि गएको जेठमा निकालिएको बेलिब्रिज पानीको बहाव घटेपछि गएको दुई हप्तादेखि फेरि राख्ने काम थालिएको थियो । फोक्सिङटारमा पक्की पुल अभावमा वषौँदेखि बेलिब्रिज राख्ने गरिएको छ ।

फोक्सिङटारमा अस्थायी बेलिब्रिज सञ्चालनमा आएपछि ६ महिनाका लागि खोटाङ र पूर्वीशहर जोड्नेद्धार खुलेको छ । हिउँदभरि सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा ५० मिटर लम्बाई र ५ मिटर चौडाई भएको बेलिब्रिज जडान गरिएको हो । फोक्सिङटारमा अस्थायी बेलिब्रिज जडान गरेपछि सदरमुकाम दिक्तेलबाट गाईघाटसम्म सीधा यातायात सेवा सुरु भएको छ ।