राष्ट्रपति भण्डारी र प्रमुख आयुक्त बिच भेटवार्ता

काठमाडौं, पुस २०-

राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले आज राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गर्नु भएको छ । भेटमा राष्ट्रपति भण्डारीले प्रदेश र प्रतिनिधिसभा चुनाव सफल रुपमा सम्पन्न गरेकोमा बधाइ दिनु भएको थियो ।

पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवसहितको टोली राष्ट्रपति कार्यालय पुगेको हो ।

सो टोलीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको सबै मतपरिणाम सार्वजनिक गर्ने सम्बन्धमा राजनीतिक सहमतिको आवश्यकता औंल्याएको छ ।

टोलीले वाम गठबन्धन र त्यसनिकट युवा–विद्यार्थी संगठनले प्रतिनिधिसभाको समानुपातिकको मतपरिणाम चाँडो सार्वजनिक नगरेकामा विरोध प्रदर्शन गर्दा आफूहरुलाई दबाब महसुस भएको जनाएको थियो ।

राष्ट्रपतिका प्रमुख स्वकीयसचिव भेषराज अधिकारीकाअनुसार जवाफमा राष्ट्रपति भण्डारीले राजनीतिक सहमति गर्नुपर्ने अवस्था हो भने आयोगले नै त्यसको पहल गरेर सहमतिको वातावरण जुटाइ आवश्यक काम गर्न सल्लाह दिनु भएको थियो ।

गत मंसिर १० र २१ गते भएको निर्वाचनमा बहुमत ल्याएको वाम गठबन्धनले परिणाम सार्वजनिकमा ढिलाइ नगरी नयाँ सरकार गठनको मार्गप्रशस्त गर्न माग गर्दै आएको छ ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भने प्रदेशसभाको समानुपातिकतर्फ विजयी सदस्यहरुको सूची संशोधनका लागि दलहरुलाई समय दिइएको बताउनुभयो।

साथै प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले प्राप्त गर्ने सिट संख्या तोकी दलहरूलाई पत्राचार गर्न आयोगलाई संवैधानिक एवं कानुनी अड्चन देखिएको बताउनु भएको थियो ।

आयोगले भने राष्ट्रियसभाको निर्वाचन नभइ संघीय संसदमा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुन नसक्ने जनाउँदै आएको छ । रासस