न्यायिक समस्या समाधान गर्न संगठीत

नेपालगञ्ज पुष २०-

स्थानीय तहमा न्याय सम्पादन गर्दा आई पर्ने समस्या समाधान गर्न बाँकेका जनप्रतिनीधी संगठित भएका छन् । बाँके जिल्लाका ८ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्ष औपचारिक रुपमा आज एक जुट भएका हु्न् ।

नेपालको संविधानले स्थानीय तह अन्तर्गत उपप्रमुख र उपाध्यक्षलाई न्यायिक समितिको संयोजकको जिम्मेवारी दिएको छ । न्यायिक समितिका तर्फबाट सो जिम्मेवारी न्यायपुर्ण रुपमा सम्पादन गर्न, सम्भावित समस्यामा सम्वाद थाल्न र निकास खोज्न उपप्रमुख र उपाध्यक्ष एकापसमा संगठित भएका हुन् ।

कोहलपुर नगरपालिकाको आतिथ्यतामा भएको भेलाले स्थानीय न्यायिक समिति संघ गठन गरेको हो । नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापामगरको संयोजकत्वको स्थानीय न्यायिक समिति संघमा बैजनाथ गाउपालिकाका उपाध्यक्ष शारदा रेग्मी बिक सदस्य सचिव रहनु भएको छ ।

संघको सदस्यहरुमा कोहलपुर नगरपालिकाका उपप्रमुख सन्जु चौधरी, खजुरा गाउँपलिकाका उपाध्यक्ष एकमाया बिक, राप्तीसोनारी गाउँपालिकाका उपाध्यक्ष धनी कुमारी खत्री, डुडुवा गाउँपालिकाका उपाध्यक्ष साहिदा बानो, जानकी गाउँपालिकाका उपाध्यक्ष भुमिसरा धिताल, नरैनापुर गाउँपालिकाका उपाध्यक्ष जयन्ती श्रीवास्तव रहनु भएको छ ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख लुट वहादुर रावतले जनताका सहज न्यायका लागि जनप्रतिनीधीमा न्याययिक दक्षता हुन जरुरी हेको उल्लेख गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नु भयो ।

उपप्रमुख र उपाध्यक्षका लागि आवश्यक तालिमको व्यवस्थाका लागि स्थानीय तहमा आवश्यक पहल गर्ने, हरेक महिना नियमित वैठक बस्ने लगायतका निर्णय गरिएको संघका संयोजक एवं नेपालगञ्ज उपमहानगरपालिका उपप्रमुख थापामगरले जानकारी दिनु भयो । उपप्रमुख थापामगरका अनुसार अर्को महिना नेपालगञ्ज उपमहानगरपालिकाको आतिथ्यतामा संघको वैठक बस्नेछ ।