महानिरीक्षक नियुक्तिसम्बन्धी मुद्दामा फैसला भोली हुने

काठमाडौं, चैत ७ -सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षकको नियुक्ति सम्बन्धमा परेको मुद्दामा अन्तिम सुनुवाइ सोमबार ९आज० सकिए पनि फैसला भने मंगलबार भोली हुने भएको छ ।प्रधानन्यायाधीश सुशीला कार्की तथा न्यायाधीश डा। आनन्दमोहन भट्टराई, ईश्वरप्रसाद खतिवडा, अनिलकुमार भट्टराई र हरिकृष्ण कार्कीको पूर्ण इजलासमा भएको अन्तिम सुनुवाइपछि निर्णय मंगलबार भोली सुनाइने भएको अदालतका प्रवक्ता महेन्द्र उपाध्यायले जानकारी दिनुभयो ।

उक्त विषयमा सरकारका तर्फबाट उपन्यायाधिवक्ता रेवती त्रिपाठी र सहन्यायाधिवक्ता टीकेन्द्र दाहालले बहस गरेका थिए ।उनीहरुले प्रहरी महानिरीक्षकमा बढुवा गर्ने कार्यकारी अधिकार मन्त्रिपरिषदलाई भएको हुँदा कानुनसम्मत् सरकारले नियुक्त गरेको तर्क राखेका थिए ।रिट निवेदनका तर्फबाट जवाफ दिनेक्रममा वरिष्ठ अधिवक्ता तुलसी भट्ट, अधिवक्ता टीकाराम भट्टराई र डा। भीमार्जुन आचार्यले कानुनी आधारबिना प्रहरी नायब निरीक्षक जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षकमा बढुवा गरिएको तर्क राखेका थिए ।

चन्दका पक्षबाट भने कुनैपनि अधिवक्ताले बहस गरेनन् ।आइतबार नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, बालकृष्ण न्यौपाने, भट्ट र शम्भु थापा तथा अधिवक्ता डा। भीमार्जुन आचार्य, ओमप्रकाश अर्याल, बाबुराम कुँवर, हरि फुयाँल, विजयकान्त मैनाली, विकास भट्टराई, शिवकुमार यादवलगायतले बहस गरेका थिए ।

बहसकाक्रममा उनीहरुले प्रहरी ऐनअनुसार वरीयताकाक्रममा सिलवाल १ नम्बरमा रहेको हुनाले उनलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्नुपर्ने तर्क राखेका थिए ।नेपाल प्रहरीको महानिरीक्षक पदमा चन्दलाई बढुवा गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगराउन यसअघि अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको थियो भने आफू वरीयताको १ नम्बरमा रहेको भन्दै सिलवालले पनि रिट निवेदन दिएका थिए । त्यसमा पनि अदालतले अल्पकालीन आदेश दिएको थियो ।

यसैबीच, नेपाल प्रहरीका नायब महानिरीक्षक प्रकाशकुमार अर्यालले पनि आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्नुपर्ने माग गर्दै अदालतमा रिट निवेदन दायर गरेका छन् ।मन्त्रिपरिषदले संविधानविपरीत चन्दलाई महानिरीक्षकमा बढुवा गरेको जनाउँदै प्रहरी नियमावलीअनुसार आफू कार्यसम्पादनमा अब्बल भएको हुँदा आफूलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न निवेदनमा माग गरिएको छ ।