नेकपा एमालेको १०औँ महाधिवेशनको उद्घाटन आज हुदै

चितवनमा सुरक्षा व्यवस्थामा कडाई, ठूला सवारी साधन प्रवेशमा रोक

फाईल तस्विर !!

चितवन,मंसिर,१०-नेकपा (एमाले) को १०औँ राष्ट्रिय महाधिवेशन शुक्रबार मध्यान्ह चितवनको नारायणी किनारमा सुरु हुँदैछ। करिब ५० लाख खर्चिएर बनाएको निर्मित विशेष मञ्चमा उद्घाटन हुँदैछ।

नेकपा एमालेको महाधिवेशनको उद्घाटन समारोहलाई ध्यान दिँदै चितवनमा विहानैदेखि बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । भने चितवन प्रवेश गर्ने सवारी साधनहरु पनि रोकिएको छ ।

पश्चिमबाट आएका सवारीहरु गैँडाकोटमा रोकिएका छन भने पूर्वबाट आएका सवारीलाई पारस बसपार्कमा रोकिएको छ । एमाले नेता तथा कार्यकर्ता लिएर आएका सवारी साधनहरु पनि रोकेर सहभागीहरुलाई पैदल पठाइएको छ ।

पुल्चोक र गैंडाकोट जोड्ने पुलमा लहरै प्रहरी खटाइएको छ । यस्तै ट्राफिक प्रहरीको पनि बाक्लो उपस्थिति रहेको छ । मालवाहक सवारीसाधन विहानसम्म चलेका भएपनि अहिले सवारी साधनको चाप ज्यादै कम छ ।

उद्घाट्न स्थल नारायणी नदी किनारमा विहानैदेखि मानिसहरु भरिन थालेका छन् । विभिन्न जिल्लाबाट आएका एमाले कार्यकर्ताहरु उद्घाट्न स्थलमा पुगिसकेका छन् भने चितवन र आसपासका जिल्लाबाट आएका सर्वसाधारण पनि नारायणी नदी किनारमा पुग्दैछन् ।

उद्घाटनमा पाँच लाखभन्दा बढी जनसहभागिता हुने एमालेले जनाएको छ।महाधिवेशनमा २ हजार १७५ प्रतिनिधि र १०३ पर्यवेक्षक सहभागी हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिनुभयो।

महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन गर्ने तय भएको छ।

यसैबिच: निम्ता पाएर पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने एमाले महाधिवेशनमा नजाने हुनु भएको छ। उहाँ शुक्रबार काभ्रेको खानीखोला र महाभारत गाउँपालिकामा पार्टीको अधिवेशन उद्घाटन गर्न हेलिकोप्टरबाट जाँदै हुनुहुन्छ।

यसैगरी:सभामा बङ्गलादेश, श्रीलङ्का, कम्बोडियालगायत देशबाट राजनीतिक दलका प्रतिनिधि आएका छन्। चिनियाँ कम्युनिष्ट पार्टीको भिडियो सन्देश प्राप्त भएको विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिनुभयो। त्यस्तै उहाँले २५ देशबाट विभिन्न राजनीतिक दलका शुभकामना सन्देश प्राप्त भएको बताउनुभयो।

महाधिवेशनको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गरेपछि कार्यक्रम करिब चार घण्टासम्म चल्ने भएको छ। एमालेले मध्यहान्ह साढे १२ बजे सुरु गरेर साढे ४ बजे उद्घाटन कार्यक्रम सक्ने योजना बनाएको छ।नारायणी किनारमा उद्घाटन सकिएपछि बन्द सत्र सौराहाको सेभेन स्टार रिसोर्टमा हुने छ।

एमाले बागमती प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेलले कार्यक्रममा धेरै वक्तालाई बोल्न नदिई शीर्ष नेतालाई मात्रै सम्बोधनका लागि कार्यतालिका बनाइएको जानकारी दिनुभयो ।

उद्घाटन सत्रमा ७२ जना कलाकारले एकसाथ राष्ट्रगान प्रस्तुत गर्ने छन्। त्यस्तै चितवनस्थित विभिन्न जातजातिका सांस्कृतिक झाँकी पनि प्रस्तुत हुनेछन् ।

यो पटक एमालेले ‘जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै त्यसको मार्ग निर्देशनमा समाजवादको आधार निर्माण गरौँ’मूल नारा तय गरेको छ।