पोखरे ओखलढुंगाकै पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा

पूर्ण सरसफाइ युक्त जिल्ला घोषणा गर्ने सांसद सुनुवारको उद्घोष

सिर्जना बर्देवा/
ओखलढुंगा,पौष,२९-

ओखलढुंगाको पोखरेलाई पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । साविकको पोखरे गाविस हालको चिशंखुगढी गाउँपालिका २ लाई शनिवार आज एक कार्यक्रमका बिच जिल्लाको पहिलो पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको हो ।

‘पूरा भयो हाम्रो रहर,अब छैन रोगव्याधीको डर’ भन्ने मूलनाराका साथ सांसद यज्ञराज सुनुवारले पोखरेलाई पूर्ण सरसफाई वडा घोषणा गर्नुभएको हो ।

सरसफाई मानिसको दैनिक जीवनमा आवश्यक पर्ने भएकाले यसलाई निरन्तरता दिनुपर्ने भन्दै सांसद सुनुवारले रोग लागेपछि उपचार खर्च गर्नुभन्दा सरसफाईमा लागानी गरेर स्वच्छ वातावरण निर्माणमा लाग्न आग्रह गर्नुभयो । सांसद सुनुवारले ओखलढुंगालाई केही समय भित्रै पूर्ण सरसफाई युक्त जिल्ला घोषणा गर्ने उद्घोष गर्दै यो पवित्र अभियानमा जुट्न जिल्लाबासीलाई आवहन गर्नुभयो ।

वडा भित्रका सबै गाउँबस्ति र घरघरमा सरसफाईको सुचक पुरा भएको सुनिश्चित भएपछि पूर्ण सरसफाई उन्मुख वडा घोषणा गरिएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले बताउनुभयो । नागरिकको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सरसफाईको अभियानलाई पालिका भित्रका अन्य वडामा समेत पारिएको उहाँको भनाई छ ।

कार्यक्रममा सहभागि जनप्रतिनिधि तथा स्थानीयहरुले पूर्ण सरसफाई तथा पूर्ण आनीबानी सहितको नमुना चिशंखुगढी निर्माण गर्नका लागि प्रतिवद्धता व्यक्त गरेका थिए ।

पालिका र वडा कार्यलयको समन्वय तथा सरकारी तथा गैरसरकारी निकायको सहयोगमा चिशंखुगढीका सबै क्षेत्रमा सरसफाई सम्बन्धि सचेतनाका कार्यक्रम समेत सञ्चालनमा रहेको चिशंखुगढीका प्रमुख प्रशासकिय अधिकृत सुवास पौडेलले जानकारी दिनुभयो ।

आफ्नो गाउँलाई सरसफाई उन्मुख वडा घोषणा गरिएको अवसर पारेर स्थानीयले नाचगान गरेर खुसीयाली मनाएको छन् । ओखलढुंगा पूर्ण खोप,साक्षर र खुल्ला दिसामुक्त जिल्ला हो