प्रदेश प्रमुखले आज अपराह्न राष्ट्रपतिबाट शपथग्रहण लिने

काठमाडौं,माघ,५-

सरकारले नियुक्त गरेका सातवटै प्रदेशका नवनियुक्त प्रमुखले आज राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिने भएका छन्। सरकारले नियुक्त गरेको प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथग्रहण गराउने संवैधानिक व्यवस्था अनुसार राष्ट्रपतिले शपथग्रहण गराउन लाग्नु भएको हो ।

राष्ट्रपतिको कार्यालय अनुसार अपराह्न ४ बजे उनीहरुको नियुक्ति र शपथ ग्रहण सँगसँगै गर्ने तयारी भइरहेको जनाएको छ । सरकारले बुधबार मात्रै  प्रदेश प्रमुखको नियुक्तिका लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो। बिहीबार सार्वजनिक बिदा परेकाले शपथग्रहण आजलाई सरेको हो।

मन्त्रिपरिषद्को बुधबारको बैठकले कांग्रेस र मधेसवादी दलको भागवण्डाका आधारमा प्रदेश १ मा डा. गोबिन्द सुब्बा, प्रदेश–२ मा रत्नेश्वरलाल कायस्थ, प्रदेश–३ मा अनुराधा कोइराला, प्रदेश–४ मा बाबुराम कुँवर, प्रदेश–५ मा उमाकान्त झा, प्रदेश–६ मा दुर्गाकेशर खनाल र प्रदेश–७ मा मोहनराज मल्ललाई नियुक्त गरेको थियो।