मान्छे मार्ने’ चालकको लाइसेन्स खारेज हुने

कोहलपुर,जेठ,४-
मोटर साइलकलाई ठक्कर दिने एकजना चालकको सवारी चालक अनुमति पत्र खारेज हुने भएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयले यातायात कार्यालयमा पहल गर्ने भएको छ । बुधबार साँझ कोहलपुर नेपालगन्ज सडकखण्डको रामनगर भन्ने ठाउँमा एउटा हायसले ठक्कर दिँदा मोटर साइकल चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

मोटर साइकल चालक ऋषी शर्मा चापागाइँ कोहलपुर मोडल कलेजलगायत विभिन्न कलेजहरुका प्राध्यापक हुन् । उनको निधनपछि विभिन्न कलेजका विद्यार्थी, स्थानीयवासी तथा आफन्तहरुले दुई दिनसम्म यातायात अवरुद्ध गरेर आन्दोलन गरेका थिए । आन्दोलनको नेतृत्व संयुक्त विद्यार्थी संगठनले गरेको थियो ।

शुक्रबार बिहान पनि कोहलपुरमा आन्दोलन चर्किएको थियो । चालकलाई हदैसम्मको कारबाही हुनुपर्नेलगायतका मागहरु राखेर आन्दोलनकारीले सडक अवरुद्ध गरेका थिए । पछि प्रहरी परिचालन गरी प्रशासनले केही आन्दोलनकारी शिक्षक, विद्यार्थीहरुलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि पीडित, आन्दोलनकारी र प्रशासनबीच भएको वार्तामा ठक्कर दिने चालकको अनुमति पत्र खारेज गर्दै हदैसम्मको कारबाहीको प्रतिवद्धता जनाइएपछि आन्दोलन स्थगित भएको छ । हायस चालक भने फरार छ । तर, सवारी प्रहरीले नियन्त्रणमा राखेको छ ।

छलफलबाट चालकको अनुमति खारेजीसँगै मृतकको श्रीमतिलाई रोजगारीको ग्यारेन्टी, नगरपालिकाले अक्षयकोषको स्थापना गर्ने तथा अन्य कारबाही कानुन बमोजिम हुने लगायतका सहमति पश्चात आन्दोलन स्थगित गरिएको, नेपाल विद्यार्थी संघका प्रतिनिधि कमल शाहीले जानकारी दिए ।

सहमतिपछि पक्राउ परेका कमल शाही, राष्ट्रवादी विद्यार्थी संघका महामन्त्री बिजय काफ्ले, अनेरास्ववियू क्षेत्र नं. १का अध्यक्ष सुमन घिमिरे, आदर्श माविका प्रअ टंक गौतम, कोहलपुर मोडल कलेजका शिक्षिका रञ्जीताअधिकारीलगायत सबै रिहासमेत भएका छन् ।

बुधबार साँझ भे १ ज ६५५ नम्बरको हायसले भे ६ प ७५२४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक ऋषी शर्मा चापागाइँको घटनास्थलमै मृत्यु भएको थियो ।