माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै

काठमाडौं,फागुन,२०-नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज शुक्रबार बस्दैछ ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल र समीक्षाका साथै पार्टी पदाधिकारी चयनबारे छलफल हुने एक केन्द्रीय सदस्यले बताएका छन् । अध्यक्ष र केन्द्रीय कमिटी सदस्य मात्रै तय गरेर गत पुसमा सकिएको ८ औं महाधिवेशनले पदाधिकारी चयन गर्ने अधिकार केन्द्रीय समितिलाई दिएको थियो ।

नेता वर्षमान पुन उपचारका लागि चीनमा रहेकोले केन्द्रीय समिति बैठक सर्दै आएको थियो ।यसबीचमा प्रतिनिधि सभाबाट गत आइतबार एमसीसी पनि पारित भइसकेको छ । यसबारे पनि असन्तुष्ट पक्षले बैठकमा आवाज उठाउने भएका छन् ।

नेता नारायणकाजी श्रेष्ठलगायतले केन्द्रीय समिति बैठकमा आफ्ना असन्तुष्टि राख्ने तयारी गरेका छन् ।बैठक आज शुक्रबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा बस्ने छ । राष्ट्रिय सभागृहमा केन्द्रीय समिति बैठक हुने माओवादीले जनाएको छ ।