विश्वकप क्वार्टरफाइनलमा आज ब्राजिल र बेल्जियम तथा फ्रान्स र उरुग्वे भिड्ने

काठमाडौं,असार,२२-

रुसमा जारी विश्वकप फुटबलका क्वार्टरफाइनल खेलहरु आजबाट सुरु हुँदैछन् । क्वार्टरफाइनलको पहिलो खेलमा नेपाली समय अनुसार आज बेलुकी पौने ८ बजे फ्रान्स र उरुग्वे भिड्ने छन् । राउण्ड अफ सिक्सटिनमा अर्जेन्टिनालाई हराउँदै फ्रान्स तथा पोर्चुगललाई हराउँदै उरुग्वे क्वार्टरफाइनलमा पुगेका हुन् ।

समूह चरणका सबै तीन खेल जितेको उरुग्वेले प्रतियोगिताको चार खेलमा एकमात्रै गोल खाएको छ । लुईस सुवारेज, एडिन्सन काभानीजस्ता विश्वस्तरीय खेलाडीहरु रहेको उरुग्वे तेस्रो पटक विश्वकपको उपाधि जित्ने अभियानमा छ ।

उता, फ्रान्स पनि सन् १९९८ मा विश्वकप जित्दाको ईतिहास दोहोर्याउन चाहन्छ । किलियन एम्बाप्पे, एन्टोनियो ग्रेजम्यान, पउल पोग्बा जस्ता खेलाडीहरुले फ्रान्सलाई यसपटक उपाधि दावेदार टोली बनाएका छन् ।

आजै राति पौने १२ बजे हुने दोस्रो क्वार्टरफाईनल खेलमा ब्राजिल र बेल्जियम भिड्नेछन् । राउण्ड अफ सिक्सटिनमा मेक्सिकोलाई हराउँदै ब्राजिल तथा जापानलाई हराउँदै बेल्जियम क्वार्टरफाइनलमा पुगेका हुन् ।

समूह चरणको पहिलो खेलमा स्विट्जरल्याण्डसँग १–१ गोलको बराबरी खेलेको ब्राजिलले त्यसपछि भने कोष्टा रिका र सर्वियालाई हराएको थियो । उता बेल्जियमले समूहका तीनवटा खेलमा ट्युनिसिया, पानामा र इंग्ल्याण्डलाई हराएको थियो ।

ब्राजिल र बेल्जियमबिचको यो भिडन्तलाई संभावित दावेदारहरुको भिडन्तको रुपमा हेरिएको छ । विश्वकप फुटबलका बाँकी दुई क्वार्टरफाईनल खेलहरु भोलि हुनेछन् ।