दलालको फन्दामा परेका ३९ नेपाली महिलाको नयाँ दिल्लीबाट उद्धार

काठमाडौं,साउन,१६-

भारतको राजधानी नयाँ दिल्लीबाट ३९ नेपाली महिलाको उद्धार गरिएको छ । आज बिहान दिल्ली महिला आयोगकी अध्यक्ष स्वाति मालिवालको अग्रसरतामा उनीहरुलाई दलालको फन्दाबाट उद्धार गरिएको हो । तेस्रो मुलुक पठाउनका लागि उनीहरुलाई पहाडगञ्जको एक होटलमा राखिएको अवस्थामा उद्धार गरिएको मालिवालले जनाएकी छन् ।

राति १ बजेदेखि बिहान पौने ६ बजेसम्म प्रहरीसमेतको सहयोगमा उक्त होटलमा छापा मारेर नेपाली महिलालाई उद्धार गरिएको जनाइएको छ । मानव तस्कर गिरोहका सदस्य भने पक्राउ परेका छैनन् ।

एक साताको अवधिमा ७० भन्दा बढी महिलालाई त्यसरी उद्धार गरिएको पनि मालिवालले जनाएकी छन् । पीडित महिलालाई तेस्रो मुलुकमा आकर्षक रोजगारीको लालच देखाएर दलालहरुले ल्याउने गरेको उनको भनाइ छ ।

उनले दिल्ली प्रहरीले मानव तस्करीविरुद्ध प्रभावकारी कदम चाल्न नसकेको गुनासोसमेत गरिन् । ठूलो संख्यामा नेपाली महिलालाई होटलमा ल्याएर राख्दासमेत प्रहरीले पत्तो नपाउनु अनौठो भएको उनको भनाइ थियो ।

पीडित महिलाले आफूलाई श्रीलंका, खाडीमुलुक लगायतमा आकर्षक तलवका साथ रोजगारी मिलाइदिने आश्वासनका साथ दिल्ली ल्याइएको बताएका छन् ।ईमेजखबरबाट