ओखलढुंगामा पहिरोले घर पुरिदा एकै परिवारका चार जनाको ज्यान गयो

ओखलढुंगा,भदौ,१४-
बुधबार राति पहिरोले घर पुरिँदा मोलुङ गाउँपालिका–८ खिम्लीमा एकै परिवारका चारजनाको ज्यान गएको छ । मृत्यु हुनेमा ५० वर्षीय पूर्णबहादुर राई र उनकी श्रीमती ४० वर्षीया धनकुमारी राई, ५५ वर्षीया दिदी मित्रमाया राई र तीन वर्षीय छोरा आशिष राईको मृत्यु भएको हो ।

राई परिवारका एक छोरा र एक छोरी घरमा नभएका कारण पहिरोबाट जोगिएका छन् । उनीहरु पठनपाठनका लागि रुम्जाटारमा रहेकाले पहिरोमा पुरिनबाट जोगिएको स्थानीयले बताए । पूर्णबहादुरले अपांगता भएकी दिदीको आफ्नै घरमा पालन पोषण गर्दै आएका थिए ।

एकै परिवारका चार सदस्य पहिरोमा पुरिएपछि खिम्ली गाउँ शोकमा डुबेको छ । जनप्रतिनिधि र प्रहरीको सहयोगमा मृतकको शव पहिरोबाट निकालिएको छ । बिहीबार बिहान ४ बजे सूचना आएपछि खटिएको उद्धार टोलीले घटनास्थलबाट चार जनाको शव निकालेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक अनन्तराम शर्माले बताउनुभयो ।