‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका कुन खेलाडी कुन क्लबमा ?

लिगमा १४ टोली सहभागी हुने

काठमाडौं, असोज,८-

यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिगमा राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।

लिग सुरु हुन करिब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा)मा ‘ए’ डिभिजनका लागि १४ क्लबले दर्ता गराएको खेलाडीको सूचीमा मनाङ–मर्स्याङ्दी क्लबले राष्ट्रिय टोलीका सबैभन्दा धेरै पाँच खेलाडी अनुबन्ध गरेको छ ।

मनाङले मिडफिल्डर सुजल श्रेष्ठ, अन्जन विष्ट, विशाल राई, हेमन गुरुङ र डिफेन्डर एवं राष्ट्रिय टोलीको कप्तान विराज महर्जनलाई क्लबमा अनुबन्ध गरेको छ ।

त्यसैगरी, त्रिभुवन आर्मी क्लबबाट गोलकिपर विकेश कुथू, डिफेन्डर सुमन अर्याल तथा फरवार्ड भरत खवास र नवयुग श्रेष्ठले ‘ए’ डिभिजन लिग खेल्नेछन् ।

थ्रीस्टार क्लबबाट गोलकिपर एलन न्यौपाने, डिफेन्डर अनन्त तामाङ, मिडफिल्डर नीराजन खड्का र सुनील बलले खेल्नेछन् ।

च्यासल युथ क्लबबाट देवेन्द्र तामाङ र हेमन्त थापामगरले खेल्नेछन् भने एपीएफ क्लबबाट आदित्य चौधरीले खेल्नेछन् ।

डिफेन्डर दिनेश राजवंशी नेपाल पुलिस क्लबमा आबद्ध छन् ।

स्टार स्ट्राइकर विमल घर्तीमगरको भने अहिलेसम्म क्लबको टुंगो लाग्न सकेको छैन । विमललाई लिन थ्रीस्टार र च्यासल युथ क्लबले छलफल अघि बढाएका छन् ।

यही असोज १३ गतेदेखि सुरु हुने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेल न्यूरोड टिम (एनआरटी) र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

लिगमा १४ ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ–मर्स्याङ्दी, नेपाल पुलिस, एपीएफ, आर्मी, जावलाखेल युथ क्लब, फ्रेन्ड्स क्लब, संकटा, मछिन्द्र क्लब, सरस्वती युथ क्लब, च्यासल युथ क्लब, न्यूरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज र हिमालयन शेर्पा क्लबले खेल्नेछन् ।

‘राउन्ड रोबिन लिग’को आधारमा हुने सो प्रतियोगितामा कुल ९१ खेल हुनेछन् ।

लिगको विजेताले रु ५० लाख, उपविजेताले रु ३५ लाख, तेस्रोले रु २५ लाख, चौथोले रु १५ लाख, पाँचौंले रु सात लाख र छैटौं टोलीले रु पाँच लाख पुरस्कार पाउनेछन् ।

‘फेयर प्ले’ टोलीले रु एक लाख तथा प्रत्येक खेल जितेबापत एन्फाले क्लबलाई रु ५० हजार र ‘म्यान अफ दी म्याच’ हुने खेलाडीलाई रु १० हजार पुरस्कार दिइनेछ ।

लिग विजेता टोलीले एएफसी एसियन कप फुटबलमा सहभागिता जनाउन पाउनेछ ।

‘ए’ डिभिजन लिग चार वर्षपछि हुन लागेको हो । पछिल्लोपटक २०७१ सालमा ‘ए’ डिभिजन लिग भएको थियो ।