काठमाडौं,असोज,१३-यूईएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लव म्यानचेस्टर सिटीलाई हराएको छ ।
समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले सिटीलाई २-० गोल अन्तरले पराजित गरेको हो ।
पीएसजीको जितमा इद्रिसा गुईए र लियोनल मेस्सीले एक एक गोल गरे ।घरेलु मैदानमा इद्रिसाले आठौं मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ७४ औं मिनेटमा केलियन एमबाप्पेको पासमा मेस्सीले गोल गर्दै पीएसजीलाई २-० को जित दिलाए ।
यस गोलसँगै मेस्सी पीएसजीका लागि पहिलो गोल गर्न सफल भएका छन् । मेस्सी यसै सिजन बार्सिलोनाबाट पीएसजी आएका हुन् ।
यस जितसँगै समूह ए को पीएसजीले २ खेलमा ४ अंक जोडेको छ । पीएसजी शीर्ष स्थानमा रहेको छ ।
सिटी ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।यसै समूहको अर्को खेलमा क्लब ब्रुगले आरबी लाइपजिगलाई २-१ ले हराएको छ ।
क्लब ब्रुग ४ अंक जोडेर दोस्रो र लाइपजिग अंक विहीन रहदै पुछारमा छ ।