ढाका टोपी लगाए रै रेशम चौधरीले थारु भाषामा लिए सपथ

काठमाण्डौं,पुस,१९-

कैलाली एकबाट प्रत्यक्ष चुनाव जितेका रेशम चौधरीले आज बिहिबार चुनाव जितेको एक वर्षपछि सांसदको सपथ लिनु भएको छ । चौधरीले ढाका टाेपीमा सजिएर थारु भाषामा नै सपथ लिनु भएको हो ।

उहाँलाई सभामुख कृष्णबहादुर महराले सिंहदरबारस्थित कृषि समितिको हलमा पद तथा गोपनीयताको सपथ खुवाउनुभएको हो । टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा चाैधरी पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा थिए ।

सपथ खुवाउन उनलाई डिल्लीबजार कारागारबाट प्रहरीले सिंहदरबार ल्याएको थियो । सपथ ग्रहणमा राजपाका अध्यक्ष मण्डलका संयाेजक राजेन्द्र महताे, महन्थ ठाकुरका साथै सत्तारुढ नेकपाका नेता सुवासचन्द्र नेम्वाङ समेत उपस्थित हुनु भएको थियो ।  

प्रतिनिधिसभामा कैलाली क्षेत्र नम्बर एकबाट प्रत्यक्ष चुनिएका चौधरी चुनावअघि देखि नै भूमिगत थिए । चौधरीले पछि अदालतसमक्ष आत्मसमर्पण गरेका थिए । २०७२ साल भदौ ७ गते थरुहट प्रदेशको माग गर्दै कैलालीको टीकापुरमा भएको आन्दोलनका क्रममा आठजनाको ज्यान जानेगरी भएको घटनामा चौधरी मुख्य योजनाकार रहेको आरोप लागेको छ ।

घटनामा प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपाने र एक नाबालकसहित आठजनाको ज्यान गएको थियो । टीकापुर घटनाका दोषी रहेको आरोप लागेका २७ जना कैलाली कारागारमा तीन वर्षदेखि कारागारमा छन् ।