नेपालले पहिलोपटक जित्यो ट्वेन्टी–२० अन्तर्राष्ट्रिय शृंखला

काठमाण्डौं,माघ,२०-

नेपालले पहिलोपटक ट्वेन्टी–२० अन्तर्राष्ट्रिय शृंखला जितेको छ । यूएईसँगको तीन ट्वेन्टी–२० म्याच २–१ ले आफ्नो पक्षमा पार्दै नेपालले शृंखला जितेको हो ।

आइतबार अन्तिम खेल वर्षाले प्रभावित हुँदा १० ओभरमा छोट्याइएको थियो । पहिला ब्याटिङ गर्दै नेपालले ८ विकेट गुमाएर १०४ रनको योगफल तयार पारेको थियो । १०५ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित १० ओभरमा ९० रनमात्रै बनाउन सक्यो ।

नेपालका लागि अविनाश बोहरा, ललितनारायण राजवंशी र करण केसीले २÷२ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले एक÷एक विकेट लिए ।

ब्याटिङतर्फ नेपालका लागि पारस खड्काले सर्वाधिक २९ रन जोडे ।यस्तै सन्दीप जोराले २८, विनोद भण्डारीले २१, ज्ञानेन्द्र मल्लले ११ र करण केसीले १० रन बनाए ।

शृंखलाको पहिलो खेलमा नेपाल २१ रनले पराजित भएको थियो । दोस्रो खेलमा पुनरागमन गर्दै नेपाल ३ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेलमा नेपाल १४ रनले विजयी हुँदै शृंखला आफ्नो पक्षमा पारेको हो । यसअघि युएईविरुद्धको एक दिवसीय शृंखला पनि नेपालले २–१ अन्तरले नै जितेको थियो ।