आजदेखी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाण्डौं,चैत्र,१८-

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सोमबार रातिदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । दैनिक २२ घण्टा सञ्चालनमा रहेको विमानस्थलको धावनमार्ग पूर्णरूपमा मर्मतका लागि चैत १८ देखि तीन महिना दैनिक १० घण्टा बन्द हुने भएको हो । धावनमार्गको पिच परिवर्तन गर्दा विमानस्थलको सञ्चालन अवधि १४ घण्टाको हुनेछ । 

मर्मतको अवधि अर्थात ९१अप्रिल २०१९ देखि जुन ३०० सम्म विमानस्थल दैनिक बिहान ८ बजेदेखि राति १० बजेसम्म मात्र खुला गरिनेछ । अहिले बिहान ६ बजेदेखि राति ३ बजेसम्म विमानस्थल सञ्चालनमा छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण इतिहासमा पहिलो पटक धावनमार्ग पुनः सुधार गर्न लागिएको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले जनाएको छ । 

विमानस्थलमा रहेको तीन किलोमिटर लामो एकमात्र धावनमार्ग मर्मत गर्न तीन महिना लाग्नेछ । हरेक दिन राति १० बजेदेखि बिहान ८ बजेसम्म धावनमार्ग मर्मत हुने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । उहाँले विमानस्थल मर्मत अवधिमा नियमित उडानमा कुनै कटौती नहुने स्पष्ट पार्नुभयो ।

क्यानअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक बाबुराम पौडेलका अनुसार अप्रिल १ अर्थात भोलि रातिदेखि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको काम शुरु हुनेछ । मर्मतका लागि सम्बन्धित ठकेदार कम्पनीले आवश्यक जनशक्ति र उपकरणका साथ पूर्व सम्भावित जोखिम व्यवस्थापनको तयारीसमेत गरेको निर्देशक पौडेलले बताउनुभयो ।

पहिलो चरणमा तीन हजार मिटरको धावनमार्गको कालोपत्र परिवर्तन गर्नुपर्नेछ । दैनिक ८० मिटरका दरले मिलिङ मेशिनका साथमा राति धावनमार्ग बनाइनेछ । लामो समयदेखि धावनमार्गको कालोपत्र उप्कँदा पटकपटक समस्या परेपछि सरकारले धावनमार्ग पूर्णरूपमा मर्मत (रनवे रिह्याब) गर्ने योजना बनाएको हो । 

देशकै ऐनाका रूपमा रहेको संवेदनशील मानिने अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति गरी भरपर्दो र विश्वसनीय सेवा उपलब्ध गराउने उद्देश्यले विमानस्थल मर्मतको काम उच्च प्राथमिकतामा परेको क्यानले जनाएको छ ।क्यानका महानिर्देशक सञ्जीव गौतमले दैनिक १० घण्टा विमानस्थल बन्द गरेर पहिलो चरणमा धावनमार्गको मर्मत गरिने बताए । धावनमार्गको काम सकेपछि बाँकी अरु आठ महिनाभित्र ट्याक्सी पार्किङलगायतका काम सक्ने योजना छ । 

धावनमार्ग स्तरोन्नतिका लागि गत नोभेम्बर महिनामा क्यानले चिनियाँ कम्पनी चाइना नेशनल एग्रो टेक्नोलोजी इन्टरनेशनल इञ्जिनियरिङ कर्पोरेसनसँग निर्माण सम्झौता गरेको थियो । चिनियाँ निर्माण कम्पनीसँग करबाहेक रु तीन अर्ब ७५ करोड लागतमा धावनमार्ग कालोपत्र परिवर्तनका लागि सम्झौता भएको थियो । सन् १९८० मा निर्माण भएको धावनमार्ग अहिलेसम्म विस्तार तथा मर्मत हुन सकेको छैन । 

धावनमार्ग सकेपछि ‘पार्किङ वे’ को काम शुरु गरिनेछ । निर्माण कम्पनीले ४५ दिनको स्तरोन्नतिको तालिका बनाए पनि क्यानले ७० दिनको अवधि तोकेको छ । सन् २०१४ बाटै विमानस्थलको धावनमार्ग बिग्रन शुरु भएको थियो । त्यसपछि २४ सै घण्टा द्रुत उद्धार टोली बनाएर सतर्क अवस्थामा राखियो । धावनमार्गमा केही समस्या आएमा छोटो समयमै मर्मत गरिँदै आएको छ । साभार : ईमेज खबरबाट