कैलाली अपडेट:प्रहरीको गोली लागी घाइते प्याकुरेललाई हेलिकोप्टरमार्फत काठमाडौं पठाइयो

फाईल तस्विर !!

काठमाडौं,चैत,१०-लम्कीमा प्रर्दशनका क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।

गोली लागेर गम्भीर घाइते भएका स्थानीय ३० वर्षीय कृष्ण प्याकुरेललाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिनुभयो । पेटमा गोली लागेका प्याकुरेललाई कोहलपुर मेडिकल कलेजमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाइएको हो ।

यस्तै अर्का घाइते १८ वर्षीय दिपक सन्ज्यालको नेपालगञ्जमै उपचार भइरहेको छ । मंगलबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत लम्की चोकस्थित टीकापुरतर्फ जाँदै गरेको ना ६ ख ८८३३ नम्बरको बसको ठक्करबाट पैदल यात्री लम्कीचुहा नगरपालिका–१ की २२ वर्षीया कमला देवकोटाको मृत्यु भएको थियो ।

सोही विषयलाई लिएर आन्दोलित स्थानीयले राजमार्ग अवरुद्ध गर्नुका साथै टायर बालेर प्रर्दशन गरेका थिए । इलाका प्रहरी कार्यालय घेराउ गर्दै प्रहरीमाथि आक्रमण गर्न थालेपछि गोली चलाउन बाध्य भएको प्रहरीको दावी छ ।