आठौं राष्ट्रिय खेलकुद नजिकिदै गर्दा सडक कालोपत्रे गर्दै

बाँके,चैत्र,२३-
आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा नेपालगन्ज नगर क्षेत्रका सडकहरु मर्मत तथा कालोपत्रे गर्ने कार्यलाई तीव्र पारिएको छ ।

नेपालगन्ज रगंशाला प्रवेश हुने मुल तथा सहायक सडक धमाधम मर्मत तथा कालोपत्रे गरिएको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ ।
नगर क्षेत्रका साना–ठुला गरी झण्डै एक दर्जन सडक मर्मत र कालोपत्रे भइरहेको उपमहानगरले जनाएको छ । अधिकांश मुख्य सडकहरु कालोपत्रे भइसकेको नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाले बताए ।

आठौँ राष्ट्रिय प्रतियोगितालाई मध्यनजर गरि उपमहानगरपालिकाले रंगशाला क्षेत्र नजिक पर्ने सडकको स्तरोन्नती गर्ने कार्यलाई प्राथमिकतामा राखेर काम गरिरहेको उपमेयर उमा थापामगरले बताइन् ।

न्यूरोड, त्रिवेणीमोड, रानी तलाउ देखि मंगलप्रसाद मावि जाने बाटो, नगरभवन देखि रंगशाला जाने बाटो, रंगशालाका वरिपरिका अन्य सडक कालोपत्रे हुने क्रममा छन् । ‘कालोपत्रे गर्न नसकिएका सहायक बाटोलाई ग्राभेल गरि रोलर लगाएर हिड्डुल गर्न सहज बनाइएको छ,’ उपमेयर थापामगरले भनिन् । उपमहानगरले आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई राम्रो अवसरका रुपमा लिएको उनले बताइन् ।

रंगशाला भित्रको प्रवेशद्वार कालोपत्रे गर्न सुरु
नेपालगन्ज रंगशाला प्रवेश गर्ने मुल प्रवेशद्वारलाई कालोपत्रे गर्न सुरु भएको छ । दुईदिन भित्र कालोपत्रे गरिसक्ने गरि काम भइरहेको मध्यपश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले बताए ।
मुल गेटको प्रवेशद्वारबाट विशिष्ट अतिथि, अतिथि, खेलाडी, प्रशिक्षक र सर्वसाधारणको आवतजावत सहज बनाउन कालोपत्रे गरिएको उनले बताए । उनले नेपालगन्ज रंगशालामा निर्माणाधिन संरचना पूरा हुने क्रममा भएको बताए ।