श्रीलंकामा आतंकवादी आक्रमणः मारिनेको संख्या १३७ पुग्यो

काठमाण्डौं,बैशाख,८-

श्रीलंकामा गराइएको बम विष्फोटमा मारिनेको संख्या एक सय ३७ पुगेको छ । राजधानी कोलम्बोमा गराइएका श्रृंखलाबद्ध बम विस्फोटमा कम्तिमा १ सय ३७ जना मारिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

श्रीलंकास्थित केही अनलाइन पत्रिकाहरुले भने मर्नेको संख्या १६० पुगेको दावी गरेका छन् ।  दुई सय जनाभन्दा बढी घाईते भएका छन् । तीन वटा चर्च र तीन वटा होटलमा श्रृंखलाबद्ध विस्फोट गराइएको हो । मारिनेमा विदेशी पर्यटक पनि छन् ।

कोच्चिकाडे, बट्टिकलोआ र कटुवापिटिया जिल्लास्थित गिर्जाघरमा विस्फोट गराइएको हो । घाईतेहरुको स्थानीय अस्पतालहरुमा उपचार भैरहेको छ ।

मध्य कोलम्बोस्थित सांग्रिला, सिनमन ग्राण्ड र किङ्सबरी होटलमा पनि छुट्टाछुट्टै विस्फोट गराइएको बताइएको छ । विस्फोटका समयमा इशाई धर्मावलम्बीहरू इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी हुँदै थिए ।

विस्फोटको जिम्मा कसैले पनि लिएको छैन । यता श्रीलंकाका राष्ट्रपति मैत्रिपाला सिरिसेनाले जनतालाई शान्त रहन र अनुसन्धानमा सहयोग गर्न आह्वान गर्नुभएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विश्वभरका नेताहरुले यस आततायी घटनाको निन्दा र भत्र्सना गरेका छन् । साभार ईमेज खबरबाट