चलचित्र “कप्स”मा पृथक विषयवस्तु उठान गरिएको छ : निर्देशक सम्राट सापकोटा

नेपालगन्ज,जेष्ठ ,१५-


आउने शुक्रबार जेष्ठ १७ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘कप्स’मा पृथक विषयवस्तुलाई उठान गरिएको निर्देशक सम्राट सापकोटाले बताएका छन् ।

लामो समय अभिनयमा सक्रिय सापकोटाले चलचित्र `कप्स´प्रथम पटक निर्देशन गरेका हुन् ।आइतबार राजधानीमा चलचित्रको जानकारी दिनको लागि आयोजित पत्रकार सम्मेलनमा `कप्स´मा एक कर्तव्यनिष्ठ नेपाल प्रहरीको कथालाई उतारिएको उनले जानकारी दिए।

पछिल्लो समयमा हास्य र लभस्टोरी जनराका चलचित्रले बढी सफलता पाइरहेको समयमा यथार्थपरक र समय सापेक्ष चलचित्र आफ्नो टिमले निर्माण गरेको पनि निर्देशक सापकोटाले बताए।

चलचित्रमा निर्देशक सापकोटा संगै अनुप बिक्रम शाही ,सन्दिपा लिम्बू, अनुपा भट्टराई, रामराज क्षेत्री, पुरन जोशी, नन्दु श्रीवास्तब, सुन्दर श्रेष्ठ, बब्लु विक्रम थापा, अनुपमा भण्डारी, रोशन सुवेदीलगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।

‘आर्या मुभिज’ र ‘सारा श्री मुभिज’ को संयुक्त ब्यानरमा निर्मित चलचित्रमा सुशान्त प्रजापतिको छायांकन र अष्ट महर्जनको द्वन्द्व रहेको छ । त्यस्तै कविराज गहतराज र शिशिर खातीको कोरियोग्राफी , विजय घिमिरे र स्वयम्भुराज शाक्यको संगीत रहेको छ ।

राम शाक्य चलचित्रका निर्माता हुन भने चलचित्रलाई विपिन मल्लले सम्पादन गरेका छन् ।