त्रिशूलीमा बस खस्यो, ३ जनाको मृत्यु, १४ को उद्दार

काठमाडौं,साउन,२४-

सर्लाहीको मलंगवाबाट काठमाडौं आउँदै गरेको ना६ख ७४६९ नम्बरको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुने तीन जना पुरुष रहेको र उनीहरुको परिचय नखुलेको धादिङका प्रहरी प्रमुख एसपी राजकुमार वैदवारले जानकारी दिनुभयो । उहाँका अनुसार १४ जनालाई उद्दार गरी उपचारका लागि विभिन्न अस्पताल पठाइएको छ। 

बसको अधिकांश भाग नदीमा डुबेको र नदीमा पानीको वहाव अत्यधिक भएकाले उद्दारमा कठिनाइ भइरहेको एसपी वैदवारले बताउनुभयो । बसमा कति यात्रु सवार थिए भन्ने खुल्न सकेको छैन।अफ्ठयारो ठाउँ भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।अहिले नेपाली सेना, सशस्त्र प्रहरीको टोली उद्धारमा खटिररेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।