जापानका सम्राट नारुहितोले सम्हाले राजगद्दी : सम्राट चिरायु रहुन् भन्दै कामना

काठमाडौं,कार्तीक,५-

जापानका सम्राट नारुहितोले भव्य समारोहका बीच मंगलबार राजगद्दी आरोहण गरेका छन् । गत मे मा तत्कालीन सम्राट अकिहितोले राजगद्दी परित्याग गरेपछि नारुहितो मे महिनामा जापानको सम्राट बन्नु भएको थियो । टोकियोमा परम्परागत विभिन्न विधि सम्पन्न भएपछि  ५९ वर्षिय नारुहिताले औपचारिक रूपमा राजगद्दी आरोहण गर्नु भएको हो ।

परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बस्नु भएको थियो ।त्यसपछि लिखित मन्तव्य वाचन गर्दै उनले राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा उत्तरदायित्व वहन गर्न संविधानअनुसार काम गर्ने शपथका क्रममा बताउनुभयो ।

पूर्वसम्राट अकिहितो पनि छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित रहेका थिए । समारोहमा जापानको राजकीय शक्तिको संकेतका रूपमा लिइने प्राचीन तरबार र रत्न पनि राखिएको थियो ।

जापानमा हालै आएको शक्तिशाली समुद्री आंधीका कारण ठूलो धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न शोभायात्रा भने स्थगित गरिएको छ । 

प्रधानमन्त्री शिन्जो आबेले सम्राट नारुहितोलाई बधाई ज्ञापन गरेपछि उहाँको नेतृत्वमा उपस्थित मानिसहरूले ‘सम्राट चिरायु रहुन्’ भन्दै नारा लगाईएको थियो ।संवैधानिक राजतन्त्र रहेको जापानमा सम्राटको भूमिका आलङकारिक छ । (एजेन्सी)