पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने,मुलुकभर लोडसेडिङमुक्त गर्ने तयारी

काठमाण्डौं,पुष ८- सरकारले यही पुस १७ गतेदेखि भारतबाट थप ८० मेगावाट विद्युत् आयात गर्ने भएको छ ।ऊर्जासचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र प्रवक्ता प्रबल अधिकारी नेतृत्वको प्रतिनिधिमन्डलले नेपालका लागि विद्युत् उपलब्ध गराउने भारतको एनभीभीएनसँग गरेको विद्युत् खरिद सम्झौतापछि थप विद्युत् आयात हुने भएको हो ।मुलुकमा जारी ऊर्जासंकट समाधान गर्न र काठमाडौं उपत्यकालाई विद्युत्भार कटौतीमुक्त गरिएको घोषणालाई नरन्तरता दिनसमेत थप विद्युत् आयातबाट सहज हुनेछ ।

भारतले उपलब्ध गराउने थप विद्युत् ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारणलाइनमार्फत् आयात गरिनेछ ।सो अन्तरदेशीय प्रसारणलाइनअन्तर्गत् मुजफ्फरपुरमा थप एक सय एमभीएको ट्रान्सफर्मर जडानकार्य गत मंसिर २८ देखि ३० गतेसम्म दुई दिन लगाएर सम्पन्न भइसकेको छ । अन्तरदेशीय प्रसारणलाइनलाई १३२ केभी क्षमताका व्याट्री चार्ज गरिसकिएको छ ।भारतबाट हाल सोही प्रसारणलाइनमार्फत् ८० मेगावाट विद्युत् आयात भइरहेको छ । सम्झौताअनुसार २०१७ जनवरी १ देखि पहिलो चरणमा थप ४० मेगावाट विद्युत् आयात हुनेछ भने फ्रेबुअरी १ देखि थप ४० मेगावाट गरी कुल १६० मेगावाट विद्युत् आयात गरिनेछ ।