निजी क्षेत्रलाई ५ गुणा बढी मूल्यमा कोरोना खोप खरिदको अनुमति

काठमाडौं,बैशाख,२४-कोरोना भाइरस विरुद्धको खोप खरिदमा विचौलिया प्रवेश गरेको खबर सार्वजनिक भईरहेको बेला सरकारले निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले निकै चर्को मूल्यमा निजी क्षेत्रलाई खोप खरिदको अनुमति दिएको हो ।निजी क्षेत्रले खरिद गर्ने खोपको मूल्य प्रति डोज १५ डलर भन्दा बढी पर्ने देखिएको छ ।

नेपाली जनतालाई कोरोनाको खोप निशुल्क वितरण गर्ने फलाक्दै आएको केपी ओलीको सरकार आफ्नो निर्णयबाट पछि हट्न लागेको छ ।

खोप खरिदमा निजी क्षेत्रलाई अनुमति दिएसँगै ७२ प्रतिशत जनसंख्यालाई निशुल्क खोप लगाउने घोषणाबाट ओली सरकार पछि हट्न लागेको प्रष्ट देखिएको छ ।

औषधी व्यवस्थापन विभागले गत चैत्र २ गते सूचना निकालेर निजी क्षेत्रलाई खोप खरिदका लागि आह्वान गरेको थियो ।

त्यति बेला कुनै पनि आवेदन नपरेको जनाईएको थियो । तर अहिले आएर सरकारले खरिद मुल्यको १० प्रतिशत सम्म मुनाफा राख्न पाउने गरी खोप खरिदका लागि लागत विवरण पेश गर्न आग्रह गरेको छ ।

सररकारको यो निर्णयपछि निजी क्षेत्रले अब सरकारले हाल खरिद गरेको भन्दा ४ गुणा बढी लागतमा खोप खरिद गरी विक्री गर्न पाउने भएका छन् ।

सरकारले भारतको सेरम इन्स्टिच्युटबाट ४ डलरमा अर्थात ४ सय ७२ रुपैयामा कोभिसिल्ड खोप खरिद गरेको थियो । तर अहिले सोही खोपका लागि १ हजार ७ सय ९ रुपैयाँमा खरिद गर्न दिने निर्णय गरिएको छ ।

उक्त खोपको दुई डोज लगाउन ३ हजार ४ सय १८ रुपैयाँ पर्ने छ । यस्तै भारतको वायोटेक कम्पनीले बनाएको कोभ्याक्स खोपका लागि १ डोजको २ हजार ६ सय पर्ने गरी खरिद गर्न दिइएको छ ।

उक्त खोप दुई डोज लगाउन ५ हजार २ सय पर्ने छ । अब निजी कम्पनीहरुले खरिद गर्ने खोप सर्वसाधारणले किनेर लगाउनु पर्ने छ ।

मन्त्रालयका खोप खरिद विज्ञ सल्लाहाकार समितिका संयोजन डा. श्यामराज उप्रेतीले निकै मंहगो मुल्य तिर्नुपर्ने भएपछि सक्ने मानिसहरु मात्रै खोपको दायरामा आउने बताउनुभयो ।

निजी क्षेत्रलाई खोप खरिद गर्न दिए पनि लक्षित र जोखिम समुहलाई सरकारले नै निशुल्क खोप दिनु पर्ने उहाँको भनाई छ ।

अहिलेसम्म २० लाख डोज खोप मात्र खरिद गरेको सरकारले पुनः थप खोप खरिद गर्न नसक्ने भएपछि निजी क्षेत्रलाई समावेश गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले बताएको छ ।

५० लाख डोज खोप खरिद गर्ने प्रक्रिया विचौलियाका कारण रोकिएको भन्दै पछि हटेको सरकारले निजी क्षेत्रलाई खोप खरिदको निर्णय मन्त्रिपरिषद वैठकबाटै गराएको छ ।

अब सरकारले ४ डलरमा खरिद गरेको खोपको मुल्य प्रति डोज १५ डलर भन्दा माथि पर्ने देखिएको छ ।

तर नेपालसँग २० बर्ष लामो सम्बन्ध रहेको सेरमले यसरी एजेन्ट मार्फत नै खोप गराउन खोज्नुको पछाडि विचौलिया समूहको नाफा जोडिएको हुन सक्ने डा. उप्रेतीको भनाई छ ।

सरकार भन्दा एजेन्ट बलियो हुदा ५० लाख डोज खोप नेपाल आउन सकेन उहाँले भन्नुभयो ।

महामारीको समयमा सर्वसुलभ रुपमा खोप खरिद गरी जनताको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नुपर्ने समयमा सरकार नै निरीह बनेर विचौलियासंग घुँडा टेक्नुले सरकार जनताप्रति कत्ति पनि संवेदनशील नरहेको पुष्टि गर्दछ ।