मध्यपश्चिमाञ्चलको पोस्टमा सशस्त्रको ८ गोल, आर्मीले सुदूरपश्चिमलाई हरायो

 सुनसरी, पुस ८-  सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गतको पुरुष फुटबल प्रतियोगिताको शुक्रबारको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लब र त्रिभुवन आर्मी क्लब विजयी भएका छन् ।सशस्त्रले मध्यपश्चिमाञ्चलविरुद्ध गोलवर्षा गर्दै जित हासिल गर्‍यो भने आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध कठिन जित दर्ता गरेको छ ।धरान–१७ स्थित एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा भएको पहिलो खेलमा सशस्त्रले मध्यपश्चिमाञ्चललाई ८–० ले हराएको हो ।सशस्त्रको जितमा युवराज खड्काले ४ गोल गरे भने अञ्जन विष्ट, श्याम नेपाली, राजेन्द्र रावलले एक–एक गोल गरे ।

मध्यपश्चिमाञ्चलका चेतन थारुले एक आत्मघाती गोल गरे ।शुक्रबार नै भएको दोस्रो खेलमा त्रिभुवन आर्मीले सुदूरपश्चिमाञ्चलविरुद्ध १–० को कठिन जित दर्ता गर्‍यो ।खेल अवधिभर सुदूरपश्चिमाञ्चलको कडा दबाब झेलेको आर्मीका तर्फबाट एकमात्र गोल सुमन अर्यालले गरेका थिए ।लिग चरणको अंकतालिकामा नेपाल पुलिस, सशस्त्र, आर्मी र मध्यमाञ्चलले समान ३–३ अंक बटुलेका छन् ।