सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट रुपमा सुरु

विराटनगर, पुस ८-  मुक्तीबाबु रेग्मी, सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु भएको छ । विराटनगरको स्थानिय सहिद रंगशालामा अपरान्ह राष्ट्रपति विद्यादेबी भण्डारीले प्रतियोगिता सुरु भएको घोषणा गर्नुभयो ।

सातौं राष्ट्रिय खेलकुदको उद्घाटनका अवसरमा तेक्वान्दोका किर्तिमानी खेलाडी दिपक बिष्ट लगायत विभिन्न ओलम्पियनले धनगढी रंगशालाबाट ल्याएको मसाल पूर्वान्चलका सात ओलम्पियनलाई हस्तान्तरण गरेका थिए । बिष्टसहित हरि रोकाया, बिमला राना मगर,जित बहादुर केसी, टिका बोगटी, बिष्णु सिह र कृष्ण बस्नेतले धनगढीबाट ल्याएको ओलम्पिक मसाल पुर्वान्चलका ओलम्पियनहरु पुस्प राज ओझा, नरेन्द्र पोमा, अर्जुन पण्डित, डमर कुवर,मेनुका राउत,चन्द्र कला थापा र टिकाराम श्रेष्ठलाई हस्तान्तरण गरिएको हो ।

उद्घाटनका बेला पूर्वाञ्चलको पहिचान झल्कने खालका झाँकीहरु प्रस्तुत गरिएको थियो । मार्चपास तथा झाँकी प्रदर्शनमा सुरुमा समारोहको उद्घाटन लेखिएको व्यानर राखिएको थियो । यसैगरी सातौ राष्ट्रिय खेलकुदको मस्कट, मध्यमाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल, सुदूर पश्चिमाञ्चल नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपिएफ र पूर्वाञ्चलका खेलाडीहरुले मार्चपास गरेका थिए ।

यसैगरी विभिन्न समूदायहरुले झाँकी पनि प्रस्तुत गरेका छन् । पूर्वाञ्चलको विभिदता झल्काउने झाँकीहरुमा किराँत राई योयाख्या, अगुवा समाज, विराट नेवा पुःचः को धिमेवाजा, लाखे नाँच, गन्गाई कन्लयाण परिषद्, नेपाल मुण्डा उत्थान, मगर संघ मोरङ, गुरुङ तमु, किराँत, नेपाल आदिवासी जनजाति महिला, राजबंशी समाज, पालुङ समाज, दनुवार समाज, ताजपुरिया समाज, तामाङ खेदुङ थारु कल्याणकारीणी सभा, सुनुवार समाज,थामी किराँत याक्था र भूजेल लगाएतका समूदायले झाँकी प्रस्तुत गरे ।

आगामी १५ गते सम्म चल्ने साँतौ राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेबी भण्डारीले पूर्वाधारको अभावका बावजुत पनि साँतौ राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु सुखद सन्देश दिएको बताउनु भयो । उनले खेलको माध्यमबाट राष्ट्रिय एकता र पहिचानको बलियो आधार पेश गरेको उल्लेख गर्नुभयो ।

नेपाली खेलाडीहरुको विकासकालागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड विद्यालय तह देखिनै खेलकुदलाई महत्व दिन संवन्धीत निकायले आग्रह गर्नुभएको छ । युवा तथा खेलकुद मन्त्री दलजित विक श्रीपालीले १३ औँ सागको तयारीको रुपमा यस प्रतियोगितालाई हेर्न आग्रह गर्नुभयो ।

उहाँले सरकारले खेलाडीकालागि विशेष योजना तथा पुरस्कारको व्यवस्था गर्न लागेको जानकारी गराउनु भयो । रेकर्ड राख्ने खेलाडीहरुलाई सम्मान गर्ने र सवै प्रदेशहरुमा रंगशाला निर्माण गर्न सरकार लागेको परेको बताउनु भयो ।

यसैगरी खेलकुद विश्वविद्यालय स्थापनाकालागि पहल भइरहेको जानकारी दिँदै खेलाडीको हितकालागि खेलकुद विकास कोष स्थापना गर्ने बताउनु भयो ।राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्टले सिमित बजेट र अर्पाप्त पूर्वाधारका बीचमा हुन लागेको यस प्रतियोगिताले राम्रो सन्देश दिने उल्लेख गर्नुभयो ।हरेक दुई दुई बर्षमा हुनुपर्ने राष्ट्रिय खेलकुद आगामी दिनमा नियमित गराउने जानकारी पनि दिनुभयो ।

उहाँले १३ औँ साग, र एशियाडकालागि प्रतिभावान खेलाडीको छनोट हुने बताउनु भयो । युवा तथा खेलकुद मन्त्रालयका सचिब मेहश प्रसाद दाहालले सरकारले खेलाडीहरुकालागि विशेष योजनाहरु बनाई सकेको जानकारी दिँदै छिट्टै खेलकुदका ‘मास्टर प्लान’ सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

उद्घाटन सत्रमा ‘खेलाडी हाँै खेलाडी’ भन्ने गीत गायकहरु सुदीप खड्का र प्राश्ना साक्यले प्रस्तुत गरेका थिए । खेलाडीका तर्फबाट टिकाराम श्रेष्ठ र निर्णायका तर्फबाट अनुप लामाले सपथ लिएका छन् ।नेवालवाणीबाट