२५ जना भन्दा बढी भेला हुन नपाइने,५५ देशबाट नेपाल आउन रोक

काठमाडौं,चैत,५-कोरोना भाइरस संक्रमणको जोखिम बढ्न नदिन सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी मानिस भेला हुन नपाइने निर्णय गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आज बसेको बैठकले पार्टी प्यालेस, साँस्कृतिक, मठमन्दिरका धार्मिक कार्यक्रम लगायतमा प्रतिबन्ध लगाउँदै २५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँ बस्न नपाउने निर्णय गरेको हो ।

यस्तै, फिल्म हल, जिम हल, नाइट क्लब, डान्सबार पनि बन्द गर्ने निर्णय गरिएको छ । यो व्यवस्था बैशाख १८ गते अर्थात अप्रिल ३० तारिखसम्म कायम रहने समितिले जनाएको छ ।

समितिले अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन सर्वसाधारणलाई आग्रह गरेको छ । कोरोना भाइरसबारे अफवाह फैलाउनेहरुमाथि सख्त कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

एसईईको परीक्षा सञ्चालनबाहेक अन्य शैक्षिक संस्थाहरु भने चैत मसान्तसम्म बन्द रहने छन् । यस्तै, सरकारले कोरोनाको संक्रमण देखिएका देशहरुबाट नेपाल आउन पूर्ण प्रतिबन्ध लगाएको छ ।

बैठकले युरोपका सबै मुलुक, पश्चिम एसिया लगायत खाडी क्षेत्रका मुलुक, इरान, टर्की, मलेसिया, दक्षिण कोरिया र जापानबाट आउने र ती मुलुकलाई ट्रान्जिट बनाएर आउने सबै मुलुकका यात्रुलाई नेपाल आउन रोक लगाएको हो ।

यो व्यवस्था चैत ७ गतेदेखि बैशाख ३ सम्म कायम रहने छ । यसै गरी अब सार्वजनिक सवारीलाई संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गर्नुपर्ने छ ।

उच्चस्तरीय समन्वय समितिले प्रत्येक दिन सञ्चालन गर्नुअघि ‘डिसइन्फेक्सन’ गर्नुपर्ने निर्णय गरेको हो । अब सार्वजनिक सवारीसाधनहरुमा सिट क्षमताभन्दा बढी यात्रु ओसरपसार गर्न पाइने छैन ।

त्यसको अनुगनमा प्रहरीमार्फत गरिने छ । सरकारले होटल, रेस्टुरेन्ट तथा सपिङ मलका सञ्चालकहरुलाई हात सफा गर्ने लगायत सफाइका सामाग्रीहरुको प्रवन्ध गरी टेबल कुर्सी, बार रेलिङ र शौचालय लगायतका स्थमानहरुमा पनि ‘डिस्इन्फेक्सन’ गर्न लगाउने सरकारले निर्णय गरेको छ ।

तापक्रम मापन गर्ने उपकरण र सामग्रीको व्यवस्था गरी उक्त स्थानमा प्रवशे गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्न लगाउने निर्णय पनि भएको छ । ईमेजखबरबाट